शनिबार, पुष ६, २०८१
16:02 | २१:४७

बेलायतमा नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले रच्यो इतिहास

नरेन्द्र बस्नेत नोभेम्बर १५, २०२४


लन्डन । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बेलायतमा पनि ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

पछिल्लो समय देश विदेशमा सर्वाधिक लोकप्रिय बनेको यो चलचित्र बेलायतको चलचित्र प्रदर्शन गृह ‘सिनेवर्ल्ड’ मा भव्यताकासाथ् प्रदर्शन भइरहेको छ ।

फाट्टफुट्ट नेपाली चलचित्र प्रदर्शन भएपनि केहि दिन मात्र चल्ने र पर्याप्त दर्शक नहुने सिने वर्ल्डमा यसपटक भने दैनिक शो संख्या थपिंदै गएको भने हल खचाखच भरिने क्रम जारी छ । अझै एक सातासम्मका लागि विभिन्न शहरमा शो निर्धारण भइसकेका छन् ।

यसअघिका चलचित्रमा हलमै गएर टिकट काटेर हेर्न सम्भव थियो भने ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न पहिला नै टिकट काट्नुपर्ने वाध्यता छ । बाबुछोराबीचको सम्बन्धमा आधारित यो चलचित्र हेर्न बेलायतका नयाँ पुस्तासमेत आकर्षित देखिएका छन् ।

बेलायतका दुई दर्जन बढी सिने वर्ल्डहरुमा प्रदर्शन गरिंदै आएको ‘पूर्णबहादुरको सारङ्गी’ले एकसाता पुग्न लाग्दा पनि राम्रै दर्शक पाइरहेको छ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा विजय बराल र प्रकाश सपुतसहित अञ्जना बराईली, मुकुन भुसाल, बुद्धि तामाङ, माओत्से गुरूङलगायतको भूमिकाले चलचित्रको कथावस्तुलाई न्याय दिएको धेरैको धारणा छ । १ सय ४५ मिनेट लामो चलचित्र पूर्ण बहादुरको सारंगी हेर्दा समय बितेको पत्तै नहुने दर्शक प्रतिक्रिया छ ।

नेपालीहरुको बाक्लो वस्ती भएका शहरहरु अल्डरसट, हन्स्लो, फेल्थम, आसफोर्ड, ब्लेक्स्लीहिथ, वेम्ब्ली, वार्टफोर्ड, रइस्लीप, एडिनबरा, ग्लास्गो, बेलफास्टलगायत क्षेत्रका दर्जनौं सिनेवर्ल्डमा चलचित्रले एक साता बित्न लाग्दा पनि स्थान पाइरहेको छ । 


सोसल मिडिया प्लाटफर्म र ‘वर्ड अफ माउथ’ का कारण नै बेलायतका नेपाली दर्शक तान्न सफल भएको छ यो चलचित्र । एउटा छोराप्रति बाबुको भूमिका, गरिवीका कारण समाजबाट अपहेलित हुनुपर्ने अवस्था र आर्थिक अवस्थाका कारण श्रीमतिले समेत छोडेर गएको मार्मिक अनि दर्दनाक कथाले प्राय दर्शकहरु आँखा रसाउन वाध्य हुन्छन् ।

आफ्नो सन्तानप्रति बाबुको भूमिका कस्तो हुनुपर्छ र उनीहरुको सफल भविष्यका लागि कतिसम्म पीडा भोग्न तयार हुन्छन् भन्ने कुरा बुझाउन विदेशमा बस्ने पछिल्लो पुस्तालाई (अंग्रेजी अनुवादमा) पनि देखाउन जरुरी हुने धेरैको बुझाइ छ । सुरुमा आमाको भूमिकाप्रति नकारात्मक भावना देखिएपनि छोराको भविष्यको लागि घरपरिवार त्याग्न वाध्य भएको स्पष्ट छ ।

चलचित्रमा छोराको भूमिकामा प्रकाश सपुतले बाबुप्रति जुन भूमिका निर्वाह गरेका छन् त्यो भूमिका उनले चलचित्रप्रति सुरुमा गरेको भूमिकाले भने प्रकाश सपुतको उचाइलाई हल्का धक्का पुगेको धेरैको बुझाइ छ । ‘प्रकाश सपुतको ठूलो फ्यान थिएँ, तर उनले चलचित्र प्रदर्शनीका क्रममा गरेको सुरुवाती भूमिकाका कारण उनीप्रति हेर्ने दृष्टिकोण फरक भयो’ एकजना दर्शक नीर खड्काले बताए । 

यद्यपि चलचित्रमा प्रकाशको भूमिका प्रशंसनीय रहेको उनको धारणा थियो ।

लन्डनस्थित एकजना वुद्धिजिवी नारायण गाउंले ग्रामीण परिवेश र दैनन्दिन क्रियाकलापमा आधारित चलचित्रमा धेरै जसो दृश्य ‘जेनेरिक’ जस्ता र पट्यारलाग्दा हुने भएपनि यस फिल्ममा कुनै दृश्य अर्घेलो लाग्ने वा झ्याउ लाग्ने खालको नभएको बताउंछन् ।

‘सिनेमाको उद्देश्य मनोरञ्जन नै हुन्छ । पढ्न र सिक्न धेरै मान्छे हलमा जाँदैनन् । सिनेमा मनोरञ्जक छ । सुरुदेखि अन्त्यसम्म बाँध्न सक्नु एउटा सिनेमाको सफलता नै हो’, गाउंलेले प्रतिक्रिया दिए, ‘सबैभन्दा ठूलो र सार्थक क्रान्ति शिक्षा नै हो भन्ने स्थापित मतलाई सिनेमाले समर्थन गरेको छ ।’

सिनेमाको अब्बल पक्ष अभिनय नै रहेको उनको ठम्याइ छ । ‘विजय बरालको क्षमतालाई निर्देशकले ठूलो न्याय गरेका छन् । बरालले पूर्णेको चरित्रलाई साँच्चै जीवन्त बनाइदिएका छन् । सँगसँगै अन्यको अभिनय पनि खोटरहित छ’, उनले भने ।

चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ ले नेपालमासमेत ऐतिहासिक सफलता प्राप्त गरेको छ । यसअघि राम्रो व्यवसाय गर्ने चलचित्रको कीर्तिमानीसमेत यस चलचित्रले तोडिसकेको छ । 

लक्ष्मीपूजा अर्थात कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिएका छन् । फिल्म अझै चलिरहेकाले यसको कमाइ बढ्ने निश्चित छ । 

छोटो समयमा धेरै कमाउने र अत्यधिक शो पुन सफल यो चलचित्रले देशबाहिर युरोप, अष्ट्रेलिया, अमेरिकालगायत विभिन्न मुलुकमा पनि उत्तिकै सफलता हासिल गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू