बुधबार, माघ ९, २०८१
10:46 | १६:३१

१५ दिनभित्र वक्यौता नतिरे पुनः लाइन काटिन्छ-कुलमान घिसिङ

नेपाली लिङ्क नोभेम्बर १३, २०२४

काठमाडौं। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताएका छन् ।

बुधवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले नेपाल सरकारले स्पष्ट रुपमा १५ दिनभित्र उद्योगीहरुसँग विद्युत वक्यौता उठाउन निर्देशन दिएको भन्दै त्यसको कार्यान्वयन प्राधिकरणले उद्योगको लाइन जोडेर शुरु गरेको बताए ।

घिसिङले नेपाल सरकारको निर्देशनअनुसार उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको बाँकी वक्यौता १५ दिनभित्र वक्यौता बुझाउनुपर्ने बताए । उनले १५ दिनको अवधिमा वक्यौता नबुझाए प्राधिकरण आफ्नो प्रक्रियामा फेरि पनि लाग्ने चेतावनी दिए ।

१५ दिनभित्र वक्यौता नउठे त्यसको जिम्मा नेपाल सरकार र ऊर्जा मन्त्रालयले पनि लिनुपर्ने उनले उल्लेख गरे ।

निर्देशक घिसिङले प्राधिकरणले कानूनी रूपमा वक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएकाले कार्यान्वयन गर्न प्राधिकरण बाध्य भएको बताए ।

प्राधिकरणले विभिन्न समयमा गरी तीन पटक लाइन काटेकोमा नेपाल सरकारले गरेको निर्णयअनुरूप जोडिरहेको भन्दै अहिले पनि सरकारको निर्देशन र निर्णयलाई प्राधिकरणले पालना गरेको उनको भनाइ थियो ।

कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठिक भएको जिकिर गरे । उनले मन्त्रिपरिषद् बैठकले आइतबार टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने बताए ।

उनले अहिलेसम्म प्राधिकरणले काटेको बिल कुनै पनि निकायले ठिक छैन नभनेको भन्दै त्यही बिलका आधारमा वक्यौता रकम उठाउने बताए ।

फेरि पनि १५ दिनभित्र भुक्तानीका लागि त्यही बिल पठाइएको उनले जनाए । प्राधिकरणले विगतमा काटेको टीओडी डाटा कुनै संशोधन गर्नु नपर्ने दाबी उनको छ ।

घिसिङले यही बिल ठिक छ भनेर अदालत, संसद्को लेखा समिति तथा विद्युत नियमन आयोग लगायतले भनेको दाबी गरे ।

उनले डेडिकेटेड र ट्रंक लाइनको बाँकी विद्युत महशुल उठाउने विषयमा आफ्नो राजश्व उठाउने बाहेक कुनै व्यक्तिगत र राजनीतिक स्वार्थ नभएको प्रष्ट्याए । उनले विद्युत प्राधिकरणमा बसेर व्यक्तिगत र राजनीतिक फाइदाको लागि नाजायज काम गर्नु नपरेको भन्दै नेपालको ऐन कानूनका आधारमा काम गरिरहेको बताए।

उनले कुनैपनि विषयमा विचलित नभई डेडिकेटेड र ट्रंक लाइनको बाँकी विद्युत महशुल उठाउने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू