अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको ऐतिहासिक जीत


काठमाडौं- डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति निर्वाचित भएका छन्। ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित भएका हुन् ।
बीबीसीका अनुसार रिपब्लिकन उम्मेदवार ट्रम्पले २ सय ७९ इलेक्टोरल मत पाइसकेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।
डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति ह्यारिसले अहिलेसम्म २ सय २३ इलेक्टोरल मत प्राप्त गरेकी छन् ।
निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार ह्यारिससँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गरेका छन्।
आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए। त्यसपछिको निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भए ।
ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन्। उनले अमेरिकाको हितमा काम गर्ने बताएका छन्। ‘यो अमेरिकी जनताको शानदार जित हो। यसले अमेरिकालाई अझ सक्षम बनाउन मद्धत गर्नेछ। यो अमेरिकाका लागि स्वर्ण युग हुनेछ,’ सम्बोधनमा उनले भने।
उनले अभूतपूर्व विजयी गराउने अमेरिकी नागरिकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। आफू यही दिनका लागि हत्या प्रयासबाट बचेको उनको भनाइ छ।
चुनावी र्यालीमा सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। गोली उनको कानलाई छुँदै गएपछि उनी बाँच्न सफल भएका थिए।
ट्रम्पले ह्वाइटहाउसबाट आफूले पूरा जोड दिएर संघर्ष गर्ने बताएका छन्। राष्ट्रपति बन्नु संसारकै सबैभन्दा महत्त्वपूर्ण काम भएको बताउँदै उनले आफूले गरेका वाचा पूरा गर्ने प्रतिवद्धता गरे।
भाषणका क्रममा उनले एक्स (ट्वीटर) का मालिक एलन मस्कको प्रशंसासमेत गरेका थिए। उनले मस्कलाई रिपब्लिकन पार्टीका ‘नयाँ स्टार’ घोषणा गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५