मंगलबार, माघ १५, २०८१
02:34 | ०८:१९

अनेसास अफ्रिकाले मनायो ११६ औं देवकोटा जयन्ती    

अध्यक्षमा केन्याका कृष्णदत्त भट्ट

नेपाली लिङ्क नोभेम्बर ६, २०२४

नैरोबी (केन्या) । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरले नयाँ कार्यसमिति गठन गरी ११६ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती मनाएको छ ।

देवकोटा जयन्तीको कार्यक्रम आयोजना गर्नु अघि सम्पन्न दोश्रो वार्षिक साधारणसभाले केन्याका कृष्णदत्त भट्टलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गर्‍यो ।

त्यसैगरि उपाध्यक्षमा तान्जानियाका पासाङ्ग शेर्पा गोपर्मा, महासचिवमा रुवान्डाकी चन्द्रकला आचार्य, सचिवमा सागर भण्डारी (केन्या), कोषाध्यक्षमा तिर्सना कोइराला (रुवान्डा) र  सदस्यहरुमा रामचन्द्र राई (सेसेल्स), गंगा बस्याल (केन्या), भरत रिजाल (नाइजेरिया) र महेन्द्र भट्टराई (सेसेल्स) छन् ।

त्यसपछि जुममार्फत आयोजित ११६ औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठले अफ्रिकामा पनि देवकोटा जयन्ती मनाउनु भनेको नेपाली भाषा साहित्यको बिश्वब्यापीकरण भएको गर्वलाग्दो सूचक भएको बताए ।

उनले अनेसासलाई देवकोटाका मुनामदन लगायत कृतिहरुलाई अङ्ग्रेजी एवं विदेशी अन्य भाषामा अनुवाद गरि प्रकाशन गर्न सुझाए ।

विशिष्ट अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेले अफ्रिका च्याप्टरले स्थापनाको छोटो समयमा नै अफ्रिकामा किलिमन्जारो प्रकाशनसहित नेपाली साहित्यका विविध गतिविधि निरन्तर गर्नु गौरवको विषय भएको बताए ।

कार्यक्रममा अतिथिहरु टीका आत्रेय, बिटु केसी, एनवी अन्जान, विमल वैद्य, रेनुका भट्टराई तथा केन्द्रीय वरिष्ठ  उपाध्यक्ष लालगोपाल सुवेदी, केन्द्रीय सल्लाहकार हिक्मत थापा, केन्द्रीय उपाध्यक्ष गणेश खड्का तथा कार्यसमितिका सदस्य गंगा बस्यालले रचना वाचन गर्दै महाकवि देवकोटाले साहित्यिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गरेका थिए ।

कार्यक्रममा अनेसास अफ्रिका महादेशीय च्याप्टरका सदस्य  रामचन्द्र राईले अतिथिहरुलाई स्वागत गरे भने महासचिव चन्द्रा आचार्यले कार्यक्रम संचालन गरेकी थिइन् ।

सभापति अनेसास अफ्रिका महादेशीय च्याप्टरका नवनिर्वाचित अध्यक्ष कृष्ण दत्त भट्टले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने उपस्थित सबै अतिथी लगायत सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

सो अवसरमा अनेसास अफ्रिका महादेशीय च्याप्टरका कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू