इंग्ल्याण्ड र वेल्समा ६ सय प्रहरी बर्खास्त


लन्डन । इंग्ल्याण्ड र वेल्समा सेवारत झन्डै ६ सय प्रहरी अधिकारीलाई खराब आचरणका कारण बर्खास्त गरिएको छ।
आफ्नो जिम्मेवारीप्रति इमान्दार नरहेका कारण पछिल्लो एक वर्षमा उनीहरुलाई कारवाही गरिएको बीबीसीले उल्लेख गरेको छ।
गत वर्षको तुलनामा कारवाहीमा पर्ने प्रहरी अधिकारीको संख्या झन्डै ४ सय बढी रहेको ‘कलेज अफ पोलिसिङ’ ले जनाएको छ । यो संख्या करिब ५० प्रतिशतले वृद्धि भएको नयाँ तथ्यांकले देखाएको छ ।
प्रहरी मामिलामा नजिकबाट काम गर्दै आएको ‘द नेशनल पोलिस चिफ्स काउन्सिल’ ले जनताको सेवा गर्न योग्य नभएका अधिकारीहरुलाई हटाउन आफूहरु प्रतिवद्ध रहेको बताएको छ । उनीहरुलाई पदबाट बर्खास्त गरिनुको मुख्य कारण इमान्दारितामा कमी, यौन अपराध वा दुर्व्यवहार र भेदभावपूर्ण व्यवहार जस्ता छन् ।
व्हाट्सएपमा आपत्तिजनक फोटो शेयर गर्ने, केटाकेटीको अशोभनीय तस्विर राख्ने तथा यौन उद्देश्यका लागि आफ्नो पदको दुरुपयोग गरेकोमा उनीहरुलाई कारवाही गरिएको बताइएको छ । कारवाहीमा पर्नेहरुमा अधिकांश प्रहरी जवान छन् भने तीन चौथाईभन्दा बढी अधिकृत स्तरका र विशेषगरी पुरुषहरु छन् ।
उक्त तथ्यांकबाट प्रहरी सेवामाभित्र निर्धारित मापदण्ड पूरा गर्न नसके उन्मुक्ति नमिल्ने स्पष्ट भएको सहायक प्रमुख कन्स्टेबल टम हार्डिङले बताएका छन् । उच्च मापदण्ड पूरा गर्न असफल हुनेहरुको लागि प्रहरी सेवामा भविष्य छैन भन्ने सुनिश्चित गर्दै सही मानिसहरुलाई प्रहरी सेवामा आकर्षित गरिने पनि उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५