लन्डनमा सामूहिक म्हः पूजा, उल्लेख्य संख्यामा गैरनेवार पनि सहभागी
लन्डन-नेवारी समुदायमा नेपाल संवतको नयाँ वर्षका दिन मनाइने म्हः पूजा विशेष कार्यक्रमसहित बेलायतमा पनि मनाइएको छ।
पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाको आयोजनामा शनिबार लन्डन प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा सम्पन्न कार्यक्रममा चार सय बढीको सहभागिता रह्यो।
मौलिक नेवारी संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुति गरिएको कार्यक्रममा गैरनेवार समुदायका नेपालीसमेतको उल्लेख्य उपस्थिति थियो।
सो अवसरमा सञ्चालन गरिएको सामूहिक म्हः पूजामा तीन सय बढीले भाग लिएको र त्यसमध्ये करिब एक तिहाइ गैरनेवार रहेको आयोजक शाखा अध्यक्ष माधवलाल श्रेष्ठले बताए।
‘हाम्रो उद्धेश्य आफ्नो मौलिक परम्परा, संस्कृतिको जगेर्ना मात्र नभइ अन्य समुदायलाई देखाउने, चिनाउने पनि हो। त्यसैले यति ठूलो संख्यामा अन्य समुदायका नेपाली दाजुभाइ दिदीबहिनी आएर हामीसंगै बसेर म्हःपूजा गर्दा निकै खुशी लागेको छ’, श्रेष्ठले भने।
वर्षमा एक दिन आफैलाई पूजा गर्ने नेवारी परम्पराअनुसार म्हः पूजा मनाउने गरिएको अध्यक्ष श्रेष्ठले बताए । म्हः पूजामा सहभागीहरुलाई सगुनस्वरुप ऐला, अण्डा, ओखर र फलफूल साथै टीका र जजन्का प्रदान गरिएको थियो।
शाखा अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्थानीय रोयल ग्रीनवीच बरो मेयर जीत रानाभाट र पासा पुचः गुथि यूके बोर्ड अफ ट्रस्टी अध्यक्ष सुशील प्रजापतिले शुभकामना मन्तव्य राख्दै नेपाल संवतको नयाँ वर्ष ११४५ को शुभकामना व्यक्त गरेका थिए ।
उनीहरुले पासा पुचः साउथ इष्ट लन्डन शाखाले बेलायतमा नेवारी संस्कृति प्रवर्द्धनका लागि पुर्याइरहेको योगदानको प्रशंसा गरे ।
शाखा अध्यक्ष श्रेष्ठले धन्यवाद मन्तव्य राख्दै कार्यक्रमका सहभागी तथा सहयोगी सबैलाई धन्यवाद दिए।
उपाध्यक्ष सत्य प्रजापति र समी महर्जनले सञ्चालन गरेको कार्यक्रममा सांस्कृतिक संयोजक एवम् कार्यक्रम सहसंयोजक ईश्वर महर्जनले स्वागत मन्तव्य राखेका थिए।
पूर्व अध्यक्ष चुत्रबहादुर श्रेष्ठले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रिफ गरेका थिए।कार्यक्रमको शुभारम्भमा पण्डित निलहरि घिमिरेले मन्त्रोच्चारण गरेका थिए।
सो अवसरमा शाखाले लामो समयदेखि बेलायतमा लाखेनाच देखाउँदै आएका विनोद चिपालु, नेवारी संस्कृति जगेर्नामा योगदान गर्दै आएका सुशील प्रजापति र ११ वर्षदेखि शाखामा महासचिवको जिम्मेवारी सम्हाल्दै आएका नगेन्द्र श्रेष्ठ (अनुपस्थित) लाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको थियो।
त्यस्तै, नेपालबाट आएका कलाकार पल्पसा डंगोल, गायक सुरज श्रेष्ठ साथै ज्येष्ठ नागरिकहरुलाई पनि शाखाले सम्मान गरेको थियो।
कार्यक्रममा प्रस्तुत कुमारी रथयात्रा निकै आकर्षक थियो । सोही अवसरमा कलाकार विनोद चिपालुले लाखे नाच देखाएका थिए भने अन्य कलाकारले मौलिक कुमारी नाच, भैरव नाच आदि प्रस्तुत गरेका थिए ।
धिमे बाजा र ढां बाजाबीचको प्रतिस्पर्धात्मक प्रस्तुति पनि निकै रमाइलो थियो।
सांस्कृतिक प्रस्तुति संयोजन उपाध्यक्ष सत्य प्रजापति र बाजा संयोजन सुरज मकाजुले एवं कार्यक्रम संयोजन उपाध्यक्ष सुरोज मास्केले गरेका थिए।
सो अवसरमा शाखाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु देवेन्द्र श्रेष्ठ, मनिषकुमार श्रेष्ठ र चुत्रबहादर श्रेष्ठ, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, एनआरएनए यूके पूर्व महासचिव फडिन्द्र भट्टराई, आरजीएनएस अध्यक्ष लिलादेवी गुरुङ, बेक्सली नेपाली समाज अध्यक्ष डा हरिश ज्ञवाली, अन्तरराष्ट्रिय धादिङ समाज अध्यक्ष राजन खकुराल, नेप्लिज युथ एशोसिएसन यूके अध्यक्ष लछुमन गुरुङ, ठकुरी समाज साउथ इष्ट उपाध्यक्ष रजनजंग शाही, तमुधिं साउथ इष्ट अध्यक्ष प्रेम लामा र पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ, सूर्य गुरुङ, जिगेसा अध्यक्ष हरिकुमार मल्ल, चार्ल्टन नेपाली समाज अध्यक्ष सीता अर्याल, डाटफोर्ड नेपाली समाज अध्यक्ष डा. बिना घिमिरेलगायत अतिथिको पनि उपस्थिति थियो।
पासा पुथः गुथि साउथ इष्ट लन्डन शाखाले सन् २००३ मा स्थापना भएयता हरेक वर्ष नेपाल संवतको नयाँ वर्षका दिन यस्तै कार्यक्रमका साथ म्हः पूजा मनाउँदै आएको छ।
हेरौं थप तस्विरहरु (तस्विर: शिव श्रेष्ठ)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५