इन्टरपोल महासभामा भाग लिन प्रहरी महानिरीक्षक कुँवर बेलायत भ्रमणमा
काठमाडौं–प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त अधिराज्य बेलायततर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायततर्फ प्रस्थान गर्नुभएको हो ।
National Central Bureau (NCB) नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाइ गर्नुभयो ।
इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानमा भाग लिनेछ ।
उक्त महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (IWOL) तथा निजी संस्थाहरू बीचको सहकार्य, Digital Evidence मा कानूनी पहुँच, इन्टरपोलको संविधान संशोधनका लागि विभिन्न देशबाट पेश गरिएका प्रतिवेदनहरू, Annual financial report and Financial statements 2023, Programme of activities and draft budget for 2025, Indications for 2026 and 2027, इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम जस्ता विषयमा छलफल तथा महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत हुने कार्यक्रम छ ।
साथै, प्रहरी महानिरीक्षक बहादुर कुँवरको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधिहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वय थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम छ ।
प्रहरी महानिरीक्षक बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने नेपाल प्रहरीले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५