बिहीबार, माघ १०, २०८१
18:19 | ००:०४

बेलायतको प्रमुख प्रतिपक्षी कन्जरभेटिभ पार्टी नेतृ चुनिइन् केमी ब्याडनोक

नेपाली लिङ्क नोभेम्बर २, २०२४

लन्डन- बेलायतको प्रमुख प्रतिपक्षी कन्जरभेटिभ पार्टीले नयाँ नेतृत्व पाएको छ।

पार्टी सांसद तथा सदस्यहरुमाझ गराइएको विभिन्न चरणको निर्वाचनपछि शनिबार केमी ब्याडनोक पार्टीको नयाँ नेतृ चुनिएको घोषणा गरिएको हो।

अन्तिम चरणको प्रतिस्पर्धामा केमी ब्याडनोक रोबर्ट जेनेरिकलाई पछि पार्दै पार्टी नेतृ निर्वाचित बन्न सफल भएकी हुन्।

पार्टी नेता चुन्न निर्वाचन सन्चालन गरेको कन्जरभेटिभ पार्टीको १९२२ कमिटीका प्रमुख बब ब्ल्याकमेनले नतिजा घोषणा गरेका थिए। विजेता बन्ने क्रममा केमीले ५३ हजार ८ सय ६ मत प्राप्त गरिन् भने पराजित जेनेरिक ले ४१ हजार ३ सय ८८ मत पाए।

ब्याडनोक कन्जरभेटिभ पार्टीको पहिलो अश्वेत नेता बन्न सफल भएकी छन्।

ब्याडनोकले यसअघिका पार्टी नेता ऋषि सुनकलाई प्रतिस्थापन गर्नेछन् । गत जुलाई महिनामा सम्पन्न आम निर्वाचनमा व्यहोरेको पराजयपछि पार्टी प्रमुखबाट राजीनामा घोषणा गरेका सुनक त्यसयता कामचलाउ भूमिकामा थिए।

पार्टीको नयाँ नेता बन्ने दौडमा शुरुमा ६ नेता मैदानमा उत्रिएका थिए। पार्टी सांसदहरुबीचको मतदानबाट अन्तिम २ मा पुग्न सफल ब्याडनोक र जेनेरिकमध्ये एक चुन्ने अन्तिम मतदान भने पार्टीका सबै संगठित सदस्यहरुले गरेका थिए।

बेलायतमा विगत १५ वर्ष सरकार चलाएको कन्जरभेटिभ पार्टी गत निर्वाचनमा नराम्रोसंग पराजित भएको थियो। लेबर पार्टीले बहुमत प्राप्त गर्दै डेढ दशकपछि सत्तामा पुनरागमन गरेको थियो।

पार्टी निकै कमजोर बनेका बेला नेतृत्वमा निर्वाचित भएकी ब्याडनोकसामु पार्टीप्रतिको गुमेको विश्वास पुनर्स्थापित गराउनु प्रमुख चुनौती छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू