बेलायती संसद भवनमा देउसीभैलोसहित दशैंतिहार कार्यक्रम (तस्विर)


लन्डन- नेपाली महान पर्वहरु दशैं, तिहारको उपलक्ष्यमा बेलायती संसद भवन परिसरमा एक शुभकामना कार्यक्रम भएको छ।
मंगलबार बेलुका वेष्टमिनिस्टरस्थित बेलायती संसद भवनको जुब्ली रुममा आयोजित ‘दशैंतिहार मिट एन्ड ग्रीट’ मा नेपाली समुदायका प्रतिनिधि साथै बेलायती सांसदहरुसमेत सहभागी भए ।
दशैंतिहारलगायत नेपाली पर्वका अवसरमा बेलायती संसद परिसरमा पहिलोपटक आयोजित उक्त कार्यक्रममा शुभकामना आदानप्रदानसंगै देउसी भैलो र गीत, नृत्यसहित विविध मौलिक नेपाली सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।
लन्डन ग्रीनवीच बरोका मेयर जीत रानाभाटको कमनवेल्थ एन्ड गोर्खा गार्डेन तथा बावेल क्यान्सरसम्बन्धि च्यारिटी अभियानद्धारा आयोजित कार्यक्रम बेलायत सरकारको क्याबिनेट अफिसमा पार्लियामेन्टरी सेक्रेटरीसमेत रहेकी लन्डन एरिथ एण्ड थेम्समिडकी सांसद एबिना अपोङ असारेले होस्ट गरेकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद असारेले बेलायती संसद परिसरमा नेपाली सांस्कृतिक पर्वहरुको शुभकामना बांड्न पाउँदा प्रसन्नता व्यक्त गरिन् । गत निर्वाचनमा दोस्रो कार्यकाल सांसद निर्वाचित उनले आफ्नो राजनीतिक यात्रामा स्थानीय नेपाली समुदायबाट उल्लेखनीय साथ, समर्थन पाइरहेको जनाउँदै धन्यवाद ज्ञापन गरिन् ।
सोही अवसरमा अर्की बेलायती सांसद सेरा ओवेनले विविधतायुक्त नेपाली संस्कृतिबारे जान्न पाउँदा खुशी लागेको बताइन्। उनले बेलायती समाजमा नेपाली समुदायले पुर्याउँदै आएको सकारात्मक योगदानको प्रशंसा गरिन्।
बेलायती उपल्लो सदन हाउस अफ लर्ड्सकी सदस्य ब्यारोनेस हिलारी आर्मस्ट्रोङले बेलायतलाई गोर्खाहरुले पुर्याएको महत्वपूर्ण योगदानको चर्चा गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धको महत्वबारे बताइन् ।
बेलायतका लागि कार्यवहाक नेपाली राजदूत विपिन दुवाडीले बेलायती संसद भवनभित्र नेपाली पर्वहरुको उल्लास मनाउंदा सुखद अनुभूति भएको सुनाए । उनले यस्ता अवसरले बेलायत र नेपालबीचको पुरानो कूटनीतिक सम्बन्ध थप सुदृढ गर्दै जाने विश्वास व्यक्त गरे ।
लन्डन ग्रीनवीच बरो मेयर जीत रानाभाटले बेलायती संसदको प्रतिष्ठित कक्षमा नेपाली पर्वको शुभकामना बाँड्न पाउँदा गौरव लागेको बताए। बेलायतमा नेपाली पहिचानको प्रवर्द्धनमा कार्यक्रमले सहयोग पुर्याउने आशा उनको थियो ।
कार्यक्रम संयोजक श्रीचन्द्र गुरुङले उपस्थित सबैलाई स्वागत गर्दै ग्रीनवीच बरो मेयर रानाभाटको कमनवेल्थ एण्ड गोर्खा गार्डेन च्यारिटीको प्रगतिबारे अपडेट गराए ।
६० हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखिएको उक्त प्रोजेक्टलाई कोष जुटाउने अभियानमा श्रीचन्द्र गुरुङको अगुवाइमा ह्यारी गुरुङ, राजन खकुराललगायत जुटेका छन् ।
कार्यक्रममा साफा च्यारिटी वुल्लीचका पूर्व डिभिजनल सेक्रेटरी गेरी आर्मस्ट्रोङ, ब्रिटिश लिजन चाल्टर्न प्रेसिडेन्ट डेभिड बल, ग्यारिसन चर्च एड्मिनिस्ट्रेटर रुथ डड्सन, लेफ्टिनन्ट कर्णेलद्धय यमबहादुर राना र टोल खाम्चा, डा राघवप्रसाद धिताल (ओबिई), रविन्द्रजंग लामिछानेसहित नेपाली समुदायका दर्जनौं प्रतिनिधिको सहभागिता थियो ।
सो अवसरमा साउथ इष्ट रिजनल तमुधिं यूकेका सदस्यहरुले मौलिक नेपाली देउसी भैलोसहितको नाचगान प्रस्तुत गरेका थिए । एम्बर रानाभाट र हेजल तिमल्सेनाले आकर्षक सांस्कृतिक नृत्य देखाएका थिए भने गायक दीपक थापाले देशभक्तिपूर्ण गीत सुनाएका थिए ।
कार्यक्रममा लन्डन सिडनहमस्थित बालजंग अर्याल सञ्चालक रहेको गोर्खाज् रेष्टुरेन्टले स्वादिष्ट नेपाली भोजन गराएको थियो ।
हेरौं थप तस्विरहरुः (सबै तस्विर-कुशल श्रेष्ठ)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५