मंगलबार, कार्तिक १३, २०८१
20:32 | ०२:१७

नेपालको पर्यटन प्रवर्धनमा एनआरएनए भूमिका उल्लेख्य

नेपाली लिङ्क अक्टोबर २८, २०२४

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐन संशोधनको गृहकार्य भइरहेको बताएका छन् ।

‘संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामियक मस्यौदा तयार पारेका छौं । यही आलोकमा ऐनहरु आउनेछन्,’ उनले भने, ‘तपाईंहरुले पनि राम्रो कल्चर भित्रयाउनुहुनेछ, वातावरण बनाउनुहुनेछ ।’

नेपाल विविधतापूर्ण संस्कृति र प्रकृति भरिपूर्ण रहेको र नागरिक उड्डयनमा अनन्त सम्भावना रहेको मन्त्री पाण्डेले बताए । ‘आकाश सुरक्षित छ, सूचारु छ भन्ने देखाउनुछ । इयूले असुरक्षित भनेको छ । सुरक्षित, गतिशील, सूचारु आकाश देखाउन सक्यौं भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन्,’ उनले भने ।

सांस्कृतिक, भौतिक र अभौतिक सम्पदालाई पनि उजागर गर्नुपर्ने उनले बताए । ‘पछिल्लो पुस्तालाई जोड्ने भाषा र संस्कृतिले नै हो । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई अधिकतम उपयोग गर्न सकियो भने नेपालसँग जोडिनुहुन्छ । यसमा सबैभन्दा धेरै पर्यटनको क्षेत्र हो,’ उनले भने ।

पर्यटनको क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको उनले बताए । ‘संस्कृति र प्रकृतिको प्रवर्धन र आकाश सूचारु गर्ने सम्बन्धमा पनि काम गरिरहेका छौं । सातवटा प्रदेशमा सातवटा ट्वीनटर विमान सञ्चालन गर्ने भनेर सोचिरहेका छौं,’ उनले भने ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा सरकारले सबै वातावरण बनाउने प्रतिबवद्धता पनि जनाए । ‘पर्यटन क्षेत्रमा लगानीको वातावरण हामीले बनाइदिन्छौं । संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौं । तपाईहरुले सहयोग गर्नुस् । लगानीमैत्री वातावरणको भाष्य बनाउन जरुरी छ । देशभित्र र बाहिरका लगानीकर्तालाई वातावरण दिन जरुरी छ,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य एवं पर्यटन विज्ञ डा. रणबहादुर रावलले पर्यटन प्रवर्धनका लागि नीतिगत, संरचनागत सुधार जरुरी रहेको बताए । ऐन कानुनहरु पर्यटनमेत्री बनाउनुपर्ने उनको भनाइ थियो ।

‘पर्यटनको महत्त्वपूर्ण पक्ष आर्थिक विकास हो । प्राकृतिक सौन्दर्य, धार्मिक पर्यटन, विविधताले महत्त्वपूर्ण देश छ । तर हामीले गम्भीरताका साथ लिएका छैनौ,’ उनले भने, ‘नागरिकको जनजीवन आर्थिक रुपमा बढाउन पनि योगदान हुनसक्छ । पर्यटनको योगदान जिडीपीमा कम देखिए पनि नेपालको अर्थतन्त्रलाई डोरयाउन सक्छ । तर पूर्वाधार र सरकारी संरचनाहरुको अभाव छ । ५३ वटा विमानस्थलमध्ये ३३ वटा घरेलुमात्र चलिरहेको छ । २२ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले काम गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको कमी छ । पोखरा र भैरहवा चलेको छैन ।’

सबैभन्दा ठूलो समस्या नीतिकै भएको उनले बताए । ‘इको फ्रेण्डली टुरिजम संविधानमा उल्लेखित छ । तर, पूर्वाधार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रलाई ल्याउने कुरामा नीतिगतरुपमै कमजोरी भयो,’ उनले भने ।

रावलले नागरिक उड्डयन, संस्कृतिसम्बन्धी ऐनहरु संशोधन गर्न पर्यटनमन्त्रीको ध्यानाकर्षण गराए । ‘टुरिजम व्यवसायीका लागि नयाँ गन्तव्यमा फोकस हुन सकेको छैन । मेडिकल टुरिजमको सम्भावना छ । टुरिजमको पूर्वाधार कमजोर छ । सुरक्षा प्रबन्ध पनि फितलो छ,’ उनले भने ।

सरकारले काम गर्ने वातावरण बनाइदिए एनआरएन र व्यवसायीहरुले आफै काम गरिदिने भन्दै पर्यटनको नेतृत्व क्षमता, पूर्वाधारण निर्माणमा एनआरएनएले लगानी गर्नुपर्नेमा उनले जोड दिए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसी पर्यटनको सहर भएको भन्दै प्रवर्धन गर्न जरुरी रहेको बताए । ‘नेचर, कल्चर र एड्भेन्चरलाई नीतिगत र योजनाबद्धरुपमा काम गर्नुपर्छ,’ उनले भने । तर काम गर्न नीतिगत चुनौती रहेको बताए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न १८ महिना लागेको भन्दै उनले पर्यटकीय राजधानीमा आउन एनआरएनहरुलाई अनुरोध गरे । मुक्ति क्षेत्रको प्रवेशद्वार र शालिग्रामलाई आधार मानेर पोखरालाई आध्यात्मिक पर्यटन प्रवर्धन गरिरहेको उनले जानकारी दिए । पोखरामा खेल पर्यटन पनि फस्टाइरहेको बताए ।

उनले एनआरएनएको आगामी कार्यक्रम पोखरामा गर्न अनुरोध गर्दै आवश्यक सबै सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाए । पोखराले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरिरहेको लगानी गर्न आह्वान गरे । ‘पोखरा भ्रमण वर्ष २०२५’ मनाउन लागेको भन्दै एनआरएनसँग सहकार्य गरिने बताए ।

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले जैविक विविधता, धार्मिक, सांस्कृतिक विविधताले भरिएको, सिमसार क्षेत्र, नदी क्षेत्र, चराहरुको बासस्थान रहेको भरतपुरलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न पर्यटन भ्रमण वर्ष २०२४ मनाइरहेको जनाए ।

‘लामो इतिहास बोकेको भरतपुरको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुरयाउन एनआरएनएहरुको भूमिका हुनसक्छ,’ उनले भने, ‘भरतपुर, लुम्बिनी, पोखरालाई ट्रयांगलको रुपमा विकास गर्न सकियो भने आयआर्जन र समृद्धिका टेवा पुग्नेछ ।’

डिसेम्बरमा पर्यटन महोत्सव आयोजना गरेको भन्दै सहभागी हुन उनले निमन्त्रणा गरे ।

रामग्राम नगरपालिका प्रमुख धनपत यादवले छिमेकी राष्ट्रहरुबाट बढीभन्दा बढी पर्यटक भित्रयाउन जरुरी रहेको बताए । कोभिडपछि लुम्बिनी क्षेत्रको पर्यटक धाराशायी भएको र व्यवसायी पलायन भइरहेको भन्दै उनले बुद्धिष्ट पर्यटक भित्रयाउन एनआरनएनले पहल गरिदिनुपर्ने बताए । एनआरएनए र लुम्बिनी क्षेत्रका चारवटा नगरपालिकाले सम्झौता गरेर पर्यटन भित्र्याउन पहल गरिरहेको उनले जानकारी गराए ।

बुद्धको अस्तु भएको ठाउँमा बस्ने ठाउँ नभएको, संरक्षण गर्न नसकिएको भन्दै आँसु आउने ठाउँ रहेको बताए । लुम्बिनीको पर्यटन प्रवर्धनका लागि तीनै तहको सरकार र गैरआवासीय नेपालीको हातेमालो जरुरी उनले बताए । आएका पर्यटकको सुरक्षाको चुनौती पनि रहेको उनले सुनाए ।

‘बाटो राम्रो छैन । धुलाम्य हुनुपरेको छ । अनि कसरी पर्यटक आउँछ । यसमा संघ सरकार गम्भीर हुनुपर्छ,’ उनले भने । लुम्बिनीको विकास र प्रवर्द्धनका लागि आउन उनले एनआरएनहरुलाई आह्वान गरे । ‘नेपालको पर्यटनको लागि ५ मिनेट समय निकालेर प्रवर्द्धन गरिदिनुस् । हरेक वर्ष एकपटक नेपाल भ्रमण गरिदिनुस्,’ उनले भने ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले पर्यटनमा लगानीको वातावरण सिर्जना भएमा गैरआवासीय नेपाली आकर्षित हुने बताए । ‘लगानीको भरपर्दो सुरक्षा, प्रतिफलको सुनिश्चितता गर्नुपर्छ । नीतिगत निरन्तरता र नीतिगत सुधारको आवश्यकता छ,’ उनले भने ।

लुम्बिनीलाई संस्थागत गर्न एनआरएनएबाट धेरै सहयोग प्राप्त गरेको र अबका दिनमा पनि रहिरहने अपेक्षा गरे । उनले लुम्बिनी भ्रमणको लागि सम्पूर्ण एनआरएनलाई निमन्त्रणा समेत गरे । मेयर यादव र लुम्बिनीका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले लुम्बिनीको स्मारिका पर्यटन मन्त्री र एनआरएनएलाई हस्तान्तरण गरेका थिए ।

होटल एसोसिएसन अफ नेपालका सिइओ टेकेन्द्र महतले एनआरएनएसँग आफूहरुको अपेक्षा प्रवर्धन र ब्राण्डिङ भएको बताए । अर्को नेपालमा लगानी होस्, रोजगारी र अर्थतन्त्रमा सहयोग पुगोस् भन्ने अपेक्षा रहेको उनले बताए । आउने पर्यटन नीतिमा गैरआवासीय नेपालीका विषय पनि समेटिनुपर्ने र यसले पर्यटन प्रवर्धनमा सघाउने बताए ।

नेपालमा पर्यटन केन्द्रिकृत भएको, सीप र दक्षता हस्तान्तरण हुन नसकेको भन्दै महतले यसमा एनआरएनएको भूमिका हुनसक्नेतर्फ ध्यानाकर्षण गराए । होटल र पूर्वाधारमा लगानी गर्न उनले अपिल गरे ।

एनआरएनएका उपमहासचिव सोमनाथ सापकोटाले नेपालको सम्पदा, संस्कृति र पर्यटन प्रवर्धनका लागि पुलको भूमिका खेल्ने बताए । पर्यटन प्रवर्धन एनआरएनएको प्राथमिकतामा रहेको भन्दै चुनौतिहरुमा महत्त्वपूर्ण रणनीति अगाडि बढाउन र नेपाललाई पर्यटन गन्तव्य बनाउन यो छलफलले सघाउने उनको भनाइ थियो ।

एनआरएनएको नेपाल गुड्सका अध्यक्ष टिका गुरुङले नेपालमा उत्पादन भएका सामग्री विभिन्न माध्यमबाट विश्वभर प्रवर्धन गरिरहेको बताइन् । नेपाल सरकारको सहकार्यमा एनआरनएले अझै प्रवर्द्धनमा सघाउन सक्ने उल्लेख गरिन् ।

एनआरएनएको कल्चर एण्ड हेरिटेज समिति संयोजक एवं आइसीसी उपमहासचिव प्रवीन गुरुङले प्रवासमा रहेका नेपालीको सोच नै नेपालमा पर्यटक कसरी भित्र्याउने, लगानी भित्रयाउने भन्ने हुने गरेको बताउँदै विभिन्न फोरममार्फत संस्कृति प्रवर्धन गरिरहेको बताए ।

सत्रको अध्यक्षता गरेका एनआरएनएको नेपाल पर्यटन विभागका उपाध्यक्ष रविन शेरचनले पर्यटन क्षेत्रका चुनौती समाधान गर्न छलफलले टेवा पुग्ने बताए । नेपालको प्रकृतिको स्मार्ट प्रवर्धन गर्नुपर्ने आवश्यकता रहेको भन्दै एनआरएनएले विश्वव्यापी नेटवर्क प्रयोग गरेर प्रवर्धन गर्ने बताए । सय अर्ब जिडिपी पर्यटनबाटै योगदान हुनसक्ने भन्दै राज्यले लगानी गर्नुपर्ने र एनआरएन समुदाय पनि लगानी गर्न तयार रहेको बताए ।

उक्त सत्रमा नेपालका भाषा, संस्कृतिलाई विदेशमा प्रवर्धन गर्दै आएकी म्यानमार निवासी ८१ वर्षकी भारती लिम्बुनीलाई मन्त्री पाण्डेले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सत्रको सञ्चालन एनआरएनए आइसीसी सचिव भीम केसीले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू