सोमबार, कार्तिक १२, २०८१
18:31 | ००:१६

गैरआवासीय नेपाली संघमा सरकारले कुनै हस्तक्षेप नगर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

नेपाली लिङ्क अक्टोबर २७, २०२४

काठमाडौं । काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधारणसभा शुरु भएको छ।

एनआरएनए डेका अवसरमा ‘रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने मुख्य विषय केन्द्रित कार्यक्रम सोल्टी होटलमा शुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए । प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने उनले बताए ।

‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ’- उनले भने ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छवी कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे ।

उनले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भने, “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।”

‘सरकारले गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप गर्दैन। तपाईंहरुले राजनीतिक दलको राजनीति संघमा नगरिदिनु,’ उनले भने,‘ एनआरएनएको पदाधिकारी दलको होइन संस्थाको हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकताको कुनै प्रयोग नभएको बताउँदै उपयोगी बनाउन के के गर्नुपर्ने हो प्रस्ताव ल्याउन आग्रह गरे ।

उनले संसदबाट ऐन संशोधन गर्ने पर्ने बताए । एनआरएनएलाई नेपालमा काम गर्नका लागि पूर्वाधार तयार भइसकेको प्रधानमन्त्रीले बताए । ओलीले परराष्ट्र मन्त्री आरजु राणा अस्वस्थ भएका कारण गृहमन्त्री रमेश लेखकले कार्यक्रममा प्रतिनिधित्व गरेको जानकारी गराएका थिए ।

विशेष अतिथि गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले एकजुट भएर राष्ट्रलाई योगदान गरेको बताए ।

‘गैरआवासीय नेपाली विश्वभर अवैतानिक दूतको रुपमा हुनुहुन्छ। नेपाललाई कसरी देखाउनु हुन्छ नेपालको इमेज त्यस्तै बन्छ,’ गृहमन्त्री लेखकले भने।

गैरआवासीय नेपालीलाई नागरिकता नै दिएपनि त्यसको उपयोग हुन नसकेको उनको धारणा थियो ।

‘अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यालयमा पुग्दा कुनै अधिकार पाएको छैन,’ उनले भने,‘संविधान मै भएको व्यवस्था कार्यान्वयन गर्न आगामी अधिवेशनमा संसोधन प्रस्ताव लैजान सक्छौं।’

लोकतन्त्रमा अराजकता नभई अनुशासन समेत आवश्यक रहने उनले बताए ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत रुपमा जति सफल भएपनि देश सफल हुनुपर्ने उद्देश्यले एनआरएनए अभियान शुरु भएको स्मरण गर्दै शुरुमा मुटुबाट सोचेपनि पछिल्लो समय दिमाग लगाउँदा गैरआवासीय संघमा समस्या आएको बताए । ‘हामीले विदेशको धनाढ्य, ठूलो विश्वविद्यालयको प्रोफेसर भनेर नेपालमा मन्त्रालय, विश्वविद्यालयलाई गफ दिने गरेका छौं,’ महतोले भने,‘तर अभियानलाई नै संगै राख्न सकेनौं। सबैले संकल्प गरौं देश समृद्धि नभएसम्म केही हुँदैन।’

उनले छिट्टै नै एकजुट भएर गैरआवासीय अभियानलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले संघले विश्वभर नेपालको राम्रो प्रतिष्ठा बनाउने काम गरिरहेको बताए । उनले नेपालमा प्राकृतिक प्रकोप पर्दा गैरआवासीय नेपाली सधैं तयार रहेको बताए । ‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिट्यान्स पठाएका छन्। ठूलो लगानी समेत भित्रिएको छ,’ अध्यक्ष केसीले भने,‘नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ। कानुन संसोधन गरेर सिमा नतोकी लगानी भित्राउन दिनुपर्छ।’

उनले नेपाल सरकारको हस्तक्षेपकै कारण गत अधिवेशन विवादमा परेको बताए । ‘सिआइबी लगाएर धरपडक गरियो। तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन,’ उनले भने ।

संघले नेपालमा परोपकारका क्षेत्रमा १ अर्ब बढी रकमको काम गरेको पनि बताए ।

स्वागत मन्तव्य दिंदै उपाध्यक्ष डा. हेमराज शर्माले नेपालमा १ खर्ब बढी लगानी गरेको तथ्यांक रहेको बताए । नेपालबाट विदेशिएका नेपाली पाँच तारे होटल सञ्चालन देखि हावर्ड, अक्सफोर्ड, एमआइटी जस्ता विश्व चर्चित विश्वविद्यालयमा पुगेको बताउँदै उनले भविष्यमा नेपाल निर्माण गर्न फर्कने विश्वास व्यक्त गरे ।

‘गैरआवासीय नेपाली संघ सिमित व्यक्तिको बनाउने कि सबैको बनाउने भन्ने द्धन्द्धका कारण उतारचढाव देखिएको छ,’ उनले भने,‘केहीले नयाँ पद्धति स्वीकार नगर्दा समस्या देखिएको छ।’

उनले एनआरएनए ऐनका केही व्यवस्था संसोधनको आवश्यकता रहेकाले सरकारले अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्द्री पण्डे, खेलकुद मन्त्री तेजुलाल चौधरी सहित विभिन्न राजनीतिक दलका नेता, व्यवसायिक संघ संस्थाको उपस्थिति थियो।

आजबाट सुरु कार्यक्रममा नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा घनीभूत छलफल हुनेछ ।

कार्यक्रमको दोस्रो दिन २८ अक्टोबरमा राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धनः नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायत सत्रहरु समावेश गरिएका छन् ।

यसैबीच २८ अक्टोबर संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा पनि गरिनेछ । संघका ६० भन्दा बढी देशका प्रतिनिधिले प्रत्यक्ष र भर्चुअल माध्यमद्धारा सहभागिता जनाउने छन् । साथै आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभामा सहभागी हुन गैरआवासीय नेपाली संघका अधिकांश पदाधिकारीहरु तथा साधारणसभा प्रतिनिधिहरु काठमाण्डौंमा छन् ।

कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसक्नेका लागि भर्चुअल उपस्थितिका लागि विशेष व्यवस्था मिलाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू