बिहीबार, माघ १०, २०८१
20:48 | ०२:३३

बेलायतमा देवकोटा जयन्ती मनाइयो

नेपाली लिङ्क अक्टोबर २७, २०२४

लन्डन—नेपाली साहित्य विकास परिषद् यूकेले ११५औं महाकवि देवकोटा जयन्ती प्रवचन, गीतसङ्गीत प्रस्तुति, स्वागत सम्मान र कविता वाचन गरी मनाएको छ ।

वेष्ट लन्डनको एक्टनस्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अतिथी परिषद्का पदेन संरक्षक कार्यवहाक नेपाली राजदूत विपीन दुवाडीले नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुर्‍याउने काम महाकविले गरेर गर्वको इतिहास रचेको बताए ।

बेलायतमा परिषद्ले लामो समयदेखि विभिन्न साहित्यिक गतिविधि गरेर नेपाली भाषा साहित्यिको समृद्धिमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले साहित्य, संगीत र प्रवचनको मिश्रण रहेको देवकोटा जन्मजयन्तीले भावी पुस्तालाई समेत प्रेरणा पुर्‍याउने बताए ।

समारोहमा परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती एसोसिएसन यूकेका पूर्व अध्यक्ष डा. राघव प्रसाद धिताल (ओबीइ) ले महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपालका अमूल्य निधि रहेका र उनले भाषा साहित्यिको शिखर उच्च मात्र नपारेर शिक्षा मन्त्री समेत भई अन्तरराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व समेत गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएका स्मरण गरे ।

डा. धितालले बेलायतमा नेपाली भाषा साहित्य, कला जस्ता नेपाली पहिचानलाई जीवन्त राख्न परिषद्ले गरेका प्रयासहरू सरहानीय रहेको पनि बताए ।

मन्तव्यका क्रममा दूतावासका प्रथम सचिव उद्वव न्यौपानेले देवकोटाका कारण नेपाल विश्व साहित्य क्षेत्रका विशिष्ट साहित्यकारहरूसँग तुलना गर्न र अरू ठूला देशमाझ गनिने गरेको बताए ।

परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा परिषद्ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती लगायतका साहित्यिक गतिविधि तीव्र गतिले अगाडि बढाउँदै आएको चर्चा गरे ।

बेलायतमा नेपाली भाषा साहित्यिको विकासकालागि झण्डै तीन दशक अघि नेपाली साहित्य विकास परिषद् यूके स्थापना गरेर यहाँ रहेका सर्जकहरूलाई सिर्जनशील र सक्रिय गराउन परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजंग शाहको योगदान अतुलनीय रहेको पनि उनले स्मरण गरे ।

अध्यक्ष मल्लले महाकविको असिमित योगदानले नै आज नेपाली साहित्य विश्वस्तरमा गनिने गरि उभिन सकेको चर्चा गरे ।

यसअघि स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यतीका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यिको संरक्षण र संवर्धन गर्न परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको जनाए ।

वरिष्ठ सह–अध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको चर्चा पनि गरे ।

कार्यक्रम सञ्चालन गर्दै परिषद्का सह–अध्यक्ष साहित्यकार गोकुल भण्डारीले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेरणा र उर्जा मिल्ने गरेको बताए ।

राष्ट्रिय गान, महाकविको तस्विरमा माल्यार्पण र मंगल धुनबाट आरम्भ गरिएको समारोहमा परिषदका अध्यक्ष मल्ल, डा. धिताल र केसीले नेपाली राजदूतावासबाट विशिष्ट आतिथ्य ग्रहण गर्ने कार्यवाहक राजदूत विपीन दुवाडी, प्रथम सचिव उद्धव न्यौपाने, सैनिक सहचारी कर्णेल अनुप शाह र श्रीमती प्रार्थना शाहलाई ब्याज, खाता र पुष्पगुच्छाले सम्मान गरेका थिए ।

समारोहमा परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष कलाकार मदन थापा, परिषद्का उपाध्यक्ष वसन्त रायक्षेत्री तथा वरिष्ठ कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानले सारंगी र मादलमा मंगल धुन तथा महाकविका रचनाहरूमा धुन र द्यौसी भैली गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वसन्त रायक्षेत्री, ध्रुव केसी, उद्धव न्यौपाने, मनोज अन्जान, गोकुल भण्डारी र कोमल मल्लले कविता वाचन गरेका थिए ।


समारोहका सभापति अध्यक्ष मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ओबीइ, डा. जनककुमारी धिताल, वरिष्ट सहअध्यक्ष ध्रुव केसी, सह-अध्यक्ष गोकुल भण्डारी, सल्लाहकार एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, सल्लाहकार मदन थापा, उपाध्यक्ष वसन्त रायक्षेत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान, पूर्व कार्यकारिणी सदस्यहरु ज्ञानेन्द्र राउत र कोहिनूर मल्ल, सितु खरेल लगायतलाई सहभागिता र सहयोगका लागि आभार प्रकट गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू