शनिबार, कार्तिक १०, २०८१
07:23 | १२:०८

एनआरएनए ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारणसभा आइतबारदेखि

नेपाली लिङ्क अक्टोबर २५, २०२४

कार्यक्रमबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए पदाधिकारी

काठमाडौं । गैरआवासीय नेपाली संघले ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ विषयक एनआरएन ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारणसभा गर्ने भएको छ । यही अक्टोबर २७ र २८ तारिख काठमाडौंको होटल सोल्टीमा कार्यक्रम हुँदैछ ।

कार्यक्रम उद्घाटन आइतबार साढे ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने संघले जनाएको छ । नेपाल सरकारका मन्त्रीहरु, उच्च पदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशबाट उच्च पदस्थ व्यक्तित्व एवं विज्ञहरूको सहभागिता रहने कार्यक्रममा ७ वटा प्लेनरी सत्र रहनेछन् । कार्यक्रममा स्वदेश तथा विदेशका ५ सय भन्दा बढी व्यक्तित्वको सहभागिता रहने अपेक्षा संघको छ ।  

कार्यक्रमको पहिलो दिन २७ अक्टोबर २०२४ मा नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा घनीभूत छलफल हुने जनाइएको छ।

कार्यक्रमको दोस्रो दिन २८ अक्टोबर २०२४ मा राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धन: नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायत सत्रहरु समावेश गरिएका छन् ।

स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उद्देश्यले स्थानीय तहका प्रमुख तथा प्रदेश स्तरका मन्त्रीको सहभागिता हुने कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीतिनिर्माण तहका विज्ञहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु तथा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई गहन छलफलको मञ्च उपलब्ध गराउने विश्वास संघले लिएको छ।

यस अवसरमा एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्बको फण्ड) सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्रीलगायत सरोकारवालासँग छलफल हुनेछ जसले गैरआवासीय नेपालीहरूद्वारा नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने दीर्घकालीन परियोजनाहरूलाई सहयोग पुर्‍याउने आशा संघले राखेको छ । 

संघले ग्लोबल कन्क्लेभ गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने मार्ग पनि ठानेको छ । यस अवसरमा नेपालको आर्थिक विकासका सम्भावना र चुनौतीहरुबारे छलफल गरिने छ। 

‘हाम्रो उद्देश्य विदेशी लगानी आकर्षित गर्ने र नेपाललाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने पनि हो’- संघले भनेको छ- ‘समग्रमा यस ग्लोबल कन्क्लेभले नेपाल सरकार, गैरआवासीय नेपाली समुदाय र अन्य सरोकारवालाहरूबीच सहकार्यको वातावरण सिर्जना हुने अपेक्षा छ ।’

यसैबीच, २८ अक्टोबर २०२४ तदनुसार कार्तिक १२ गते गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा गरिने भएको छ । 

साधारणसभामा संघका ६० भन्दा बढी देशका प्रतिनिधिले प्रत्यक्ष र भर्चुअल माध्यमद्वारा सहभागिता जनाउने छन् । साथै आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । 

साधारणसभामा सहभागी हुन गैरआवासीय नेपाली संघका अधिकांश पदाधिकारी तथा प्रतिनिधिहरु काठमाण्डौं आइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू