शनिबार, कार्तिक १०, २०८१
18:12 | २२:५७

कमल थापाले जिते टेनिसमा दुई उपाधि

रासस अक्टोबर २५, २०२४

काठमाडौँ, कात्तिक ८ गते । नेता कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा आज दुई उपाधि जितेका छन् ।

सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगितामा कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिङ्गल्समा गरी दुई उपाधि जितेका हुन् ।

कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले ६५ वर्षमाथि सिङ्गल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गरे ।

महिला सिङ्गल्सको उपाधिका लागि अभिलाशा विष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा अभिलाषाले प्रज्ना मानन्धरलाई ६–१ र ६–१ ले सहजै हराइन् ।

अर्को सेमिफाइनलमा सुनिराले स्वस्तिका विष्टमाथि ६–० र ६–१ को जित निकालिन् । पुरुष सिङ्गल्समा राजवीर प्रधान र ऋतिक राणाले फाइनलमा स्थान बनाए । राजवीरले प्रणव मानन्धरमाथि ६–१ र ६–३ ले हराएका हुन् । अर्को सेमिफाइनलमा ऋतिकले आयुष्मान हजुर घलेमाथि समान ६–१ को जित निकाल्दै उपाधि यात्रा तय गरे ।

पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा प्रणव खनाल र निहाल जङ्गबहादुर थापाको जोडीलाई ६–४ र ६–३ ले हराए ।

पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६ र १०–८ ले हराएको हो । यु–१२ उमेरसमूहको गल्स सिङ्गल्समा अनुश्री धोजु र ब्वाइज सिङ्गल्समा विश्व डल्लाकोटी च्याम्पियन बने ।

अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि जिते । यु–९ गल्र्स सिङ्गल्समा नैरा घलेले फाइनलमा रजिशा जोशीलाई ४–१ र ४–० ले हराउँदै च्याम्पियन भइन् । यु–१४ गल्स सिङ्गल्समा शिभाली गुरुङ च्याम्पियन भइन् । उनले फाइनलमा इरा खत्रीलाई समान ६–० ले हराइन् । गल्सकै यु–१० उमेरसमूहको सिङ्गल्समा सरा पन्तले फाइनलमा सरा पन्तलाई २–६, ६–० र १०–५ ले हराउँदै उपाधि जितिन् ।

ब्वाइज यु–९ उमेर समूहको सिङ्गल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगे । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४–१ र ५–३ तथा कायनले अबिर केडियालाई ४–०, ४–१ ले हराए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू