बुधबार, कार्तिक ७, २०८१
10:33 | १५:१८

विश्वको आर्थिक वृद्धि लगातार दुई वर्ष घट्ने अनुमान, बेलायतमा भने सुधार

रासस/एएफपी अक्टोबर २३, २०२४

वासिङ्टन, कात्तिक ६ गते । विश्वको आर्थिक वृद्धि यस वर्ष केही घटेर तीन दशमलव दुई प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अनुमान गरिएको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मङ्गलबार घोषणा गरेको छ ।

साथै कोषले स्थिर आँकडाहरुले क्षेत्रीय र क्षेत्रगत ‘महत्त्वपूर्ण’ परिवर्तनहरुलाई लुकाएको चेतावनी दिएको छ । आफ्नो नयाँ विश्व आर्थिक आउटलुक (डब्लुइओ) प्रतिवेदनमा कोषले विश्वव्यापी मुद्रास्फीति घट्दै गई यस वर्ष पाँच दशमलव आठ प्रतिशत हुने र सन् २०२५ मा चार दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

“हामीले आर्थिक वृद्धिमा ठूलो गिरावट वा विश्वव्यापी मन्दी बिना नै मुद्रास्फीति सही दिशातर्फ जाँदै गरेको देखिरहेका छौँ”, प्रतिवेदन प्रकाशनअघि एएफपीसँगको अन्तर्वार्तामा आइएमएफका मुख्य अर्थशास्त्री पियरे-ओलिभियर गौरिन्चासले भन्नुभयो, “हाम्रो आधारभूत विश्लेषणमा विकसित अर्थतन्त्रहरुमा (मुद्रास्फीति) सन् २०२५ मा केन्द्रीय बैंकको लक्ष्यमा फर्किनेछ र उदीयमान बजारहरूका लागि ‘केही लामो समय’ लाग्नेछ ।”

कोषको डब्लुइओ प्रतिवेदनले सन् २०२९ सम्ममा कमजोर विश्व वृद्धि तीन दशमलव एक प्रतिशतमा झर्ने अपेक्षा गर्दै त्यस मापनमा बढ्दो जोखिमहरुको चेतावनी दिएको छ । पछिल्लो छ महिनामा भइरहेका ‘महत्त्वपूर्ण क्षेत्रगत र क्षेत्रीय परिवर्तनहरु’ को चेतावनी दिँदै कोषले सन् २०२५ सम्मको वृद्धिको तुलनात्मकरुपमा शान्त दृष्टिकोणअन्तर्गत तस्विर एकरूप नभएको बतायो ।

डब्लुइओको प्रकाशन विश्व अर्थतन्त्रको स्वास्थ्यबारे छलफलका लागि विश्वभरका वित्तमन्त्री र केन्द्रीय बैंकरहरूलाई एकत्रित गर्ने आइएमएफ र विश्व बैंकको वार्षिक बैठक वासिङ्टनमा सुरु भएको एक दिनपछि आएको हो ।

अमेरिकामा बलियो वृद्धि

युरो क्षेत्रको विस्तार सुस्त रहेको तथ्यसँग ठीक विपरीत प्रतिवेदनले संयुक्त राज्य अमेरिका विश्व वृद्धिको इन्जिनको रुपमा रहेको पाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र यस वर्ष दुई दशमलत आठ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । यो सन् २०२३ को दुई दशमलव नौ प्रतिशतबाट सामान्य घटेको हो । यद्यपि अझै पनि जुलाईको कोषको अघिल्लो अनुमानभन्दा केही राम्रो छ ।

त्यसपछि सन् २०२५ मा यो केही घटेर दुई दशमलव दुई प्रतिशत हुने अपेक्षा गरिएको छ । “अमेरिकी अर्थतन्त्रले धेरै राम्रो गरिरहेको छ”, बलियो उत्पादकत्व वृद्धि र आर्थिक वृद्धिमा आप्रवासनको वृद्धिको सकारात्मक प्रभावतर्फ सङ्केत गर्दै गौरिन्चासले भन्नुभयो । युरोपमा वृद्धि अझै माथि जाँदै गए पनि ऐतिहासिक मापदण्डअनुसार कम छ ।

यस वर्ष शून्य दशमलव आठ प्रतिशतमा सीमित हुने र सन् २०२५ मा केही बढेर एक दशमलव दुई प्रतिशत पुग्ने देखिन्छ । फ्रान्स र स्पेनले सन् २०२४ को आफ्नो दृष्टिकोणमा सुधार देखेका छन् । ‘निर्माणमा लगातार कमजोरी’ उल्लेख गर्दै आइएमएफले जर्मनीको वृद्धि अनुमान यस वर्ष शून्य दशमलव दुई प्रतिशत विन्दु र अर्को वर्ष आधा प्रतिशत विन्दुले घटायो ।

बेलायतमा केही राम्रो समाचार देखिएको छ । यहाँ ‘घट्दो मुद्रास्फीति र ब्याजदरले आन्तरिक मागलाई उत्प्रेरित’ गर्ने भएकाले सन् २०२४ र २०२५ दुवैमा वृद्धि बढ्ने अनुमान गरिएको छ ।

चीन र भारत सुस्त

आइएमएफका अनुसार जापानको वृद्धि यस वर्ष तीव्र रूपमा घटेर शून्य दशमलव तीन प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । ‘वास्तविक ज्याला वृद्धि बलियो हुँदै जाँदा निजी उपभोगले बढावा दिने’ भएकाले त्यसपछि अर्को वर्ष १.१ प्रतिशतमा बढ्नेछ ।

कोषले चीनको आर्थिक उत्पादन वृद्धि निरन्तर खुम्चिने अपेक्षा गरेको छ । कोषले गत वर्षको पाँच दशमलव दुई प्रतिशतबाट यस वर्ष चार दशमलव आठ प्रतिशतमा झर्ने र त्यसपछि सन् २०२५ मा अझै घटेर चार दशमवल पाँच प्रतिशत पुग्ने अनुमान गरेको छ ।

भारतमा गिरावट अझ स्पष्ट देखिने छ । भारतमा आइएमएफले सन् २०२३ को आठ दशमलव दुई प्रतिशतबाट घटेर यस वर्ष सात प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ‘महामारीको समयमा जम्मा भएको दबाइएको माग’ सकिँदै जाँने हुनाले त्यसपछि यो अझै घटेर छ दशमलव पाँच प्रतिशतमा झर्नेछ ।

आइएमएफले मध्यपूर्व र मध्य एसियामा वृद्धि यस वर्ष केही बढेर दुई दशमलव चार प्रतिशत पुग्ने तथा तेल र जहाज यातायातमा भएका अस्थायी अवरोधहरु घट्दै जाँदा सन् २०२५ मा तीन दशमलव नौ प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ ।

उप-सहारा अफ्रिकामा आइएमएफले यस वर्ष वृद्धि तीन दशमलव छ प्रतिशतमै अपरिवर्तित रहने र मौसमी झड्काहरू कम हुँदै जाँदा र आपूर्ति अवरोधहरु घट्दै जाँदा सन् २०२५ मा चार दशमलव दुई प्रतिशत पुग्ने पूर्वानुमान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू