मंगलबार, कार्तिक ६, २०८१
06:29 | ११:१४

अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

नेपाली लिङ्क अक्टोबर २१, २०२४

काठमाडौं। अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो ।

यससँगै नेपालले सिरिज ३–० ले जितेको छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो। रोमाञ्चक दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा स्तब्ध बनाएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

नेपालको लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५० रन बनाएका हुन् ।

कुशल मल्लले अविजित ४४, कुशल भुर्तेलले अविजित ४० र ओपनर अनिल शाहले १३ रन योगदान गरे । बलिङमा अमेरिकाका जुनोय ड्रेसडाले र जसदीप सिंहले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाका लागि ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ६८ रन बनाए । मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित अविजित ४३ रन, एरोन जोन्सले १३ र हरमित सिंहले अविजित १० रन बनाए।

बलिङमा नेपालका नेपालका सोमपाल कामीले तीन विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले एक एक विकेट योगदान गरे । नेपालका आशिफ प्लेयर अफ दि म्याच र सोमपाल कामी प्लेयर अफ दि सिरिज भए ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग तीन वटा टी–२० क्रिकेट खेलेको हो ।

टी–२० सिरिज पछि अब आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । टेक्सासस्थित ग्रान्ड पिएरे मैदानमा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड खेल्नेछन्।

लिग–२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेलकात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू