शुक्रबार, कार्तिक २, २०८१
20:29 | ०१:१४

संयुक्त गजल संग्रह ‘रैबार टीकापुर’ विमोचित

नेपाली लिङ्क अक्टोबर १७, २०२४

टीकापुर । संयुक्त गजल संग्रह ‘रैबार टीकापुर’ लोकार्पण गरिएको छ । कैलालीको टीकापुरमा गगन फाउण्डेशनले बुधबार गरेको एक कार्यक्रममा कृति विमोचन भएको हो ।

संयुक्त गजल संग्रह लोकार्पण गर्दै ‘पश्चिम नेपालकी गुलाब’ पनि भनेर चिनिने साहित्यकार प्रिया पत्थर श्रेष्ठले टीकापुरको माटोले जन्माएका थुप्रै साहित्यकारहरुले टीकापुरलाई सिर्जनशील भूमिको रुपमा पहिचान बनाउन मद्दत गरिरहेको बताइन् ।

‘४० को दशकमा नेपालमा भित्रिएको गजल विधा साहित्य क्षेत्रमा अब्बल विधाका रुपमा स्थापित भइरहेको छ। विश्वविद्यालयका पाठ्यपुस्तकमा टीकापुरका श्रष्टाहरुका सिर्जनाहरु समावेश भएका छन्’ श्रेष्ठले भनिन् ‘टीकापुर क्षेत्रबाटै गठित सुदूरपश्चिम साहित्य समाजले यहाँको साहित्यिक विकासमा महत्वपूर्ण योगदान पुरयाइ रहेको छ ।’

हाल धनगढी बसोबास गर्दै आएकी श्रेष्ठले आफूले टीकापुरको वासिन्दा भनि चिनाउन पाउँदा गर्व लाग्ने गरेको पनि बताइन् ।

२०७९ मा टीकापुरमा सम्पन्न टीकापुर साहित्य महोत्सवको गजल सन्ध्या कार्यक्रममा सहभागी १५ जना श्रष्टाहरुका पाँच, पाँच वटा गजल समावेश गरिएको ‘रैबार टीकापुरका’ संयुक्त गजल संग्रहमा ७५ वटा गजल छन् ।

स्वर्गीय साहित्यकार गगनसिंह थापाको स्मृतिमा स्थापित गगन फाउण्डेशनले उक्त संग्रह प्रकाशन गरेको हो । संग्रहमाथि टिप्पणी गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. धनकृष्ण उपाध्यायले साहित्यिक कार्यक्रममा वाचन गरिएका १५ श्रष्टाका ७५ गजलहरुको संग्रह नै प्रकाशित हुनु आफैंमा सुखद् अनुभूति रहेको बताए ।

डाक्टर उपाध्यायले थपे ‘गजल साहित्यमा यो कृतिले छुट्टै स्थान बनाउनेछ, यो प्रकाशनका लागि म गगन फाउन्डेसनप्रति आभार व्यक्त गर्दछु ।’ डा. उपाध्यायले संग्रहमा देश प्रेम, मायाप्रिती लगायत समसामयिक विषयवस्तुमाथि लेखिएका सशक्त गजलहरु समावेश रहेको बताए ।

कार्यक्रममा संग्रहका स्रष्टा हर्क विष्ट, विष्णाकुमारी बिसी ‘सपना’ ले आफ्ना गजलहरु वाचन गरेका थिए । त्यस्तै सहभागीहरुका तर्फबाट मिनबहादुर थापा ‘मिलन’, आर्त अकुलिन, आनन्द विक्रम राणा, कण्ठराज गिरी, झलनाथ खनाल, भक्तराज देवकोटा, ललित विष्ट, जनकराज तिमिल्सेना, चेतराज देवकोटा, निलम चौधरी र बाबु देवकोटाले गजल तथा कविताहरु प्रस्तुत गरे ।

गगन फाउण्डेशनका संस्थापक संरक्षक हिक्मत थापाको अध्यक्षतामा भएको कार्यक्रममा देवकोटा कला साहित्य प्रतिष्ठानका अध्यक्ष बलबहादुर रावल तथा साहित्यकार कर्णबहादुर थापा विशिष्ट अतिथि थिए भने कार्यक्रम सञ्चालन पत्रकार परमानन्द पाण्डेले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू