बिहीबार, कार्तिक १, २०८१
18:56 | २३:४१

बेलायत सरकार सामाजिक सञ्जालप्रति थप कठोर

नेपाली लिङ्क अक्टोबर १७, २०२४

लन्डन– अहिले मानवीय जीवनको दैनिकी बनेको सामाजिक सञ्जालप्रति बेलायत सरकार थप कठोर बनेको छ । विशेषगरि बालबालिकाको सुरक्षाका लागि सरकारले अनलाइन सुरक्षा कानून लागू गर्ने तयारी गरेको हो ।

वर्षौंको वहसपछि बालबालिकाका लागि इन्टरनेट सेवा थप सुरक्षित बनाउने लक्ष्य राखिएको सरकारको विवादास्पद अनलाइन सुरक्षा विधेयक कानूनको रुपमा पारित भएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्महरु फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपले बालबालिकालाई आफ्नो प्लेटफर्ममा सुरक्षित राख्न असफल भए नियामक निकायबाट जरिवानाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।

यो नयाँ कानून अर्को वर्षको सुरुबाट लागू गरिने सञ्चार माध्यमहरुको नियामक निकाय अफिस अफ कम्युनिकेशन (अफकम) की प्रमुख कार्यकारी डेम मेलानी डावेसले बीबीसीलाई बताएकी छन् ।

‘बालबालिका अनलाइनबाट सुरक्षित छन् भनेर सुनिश्चित राख्ने काम सम्बन्धित कम्पनीको हो, आमाबाबु वा बच्चाहरुको होइन्’, मेलानीले भनिन् ।

नयां कानूनले बच्चाहरुलाई हानी पुरयाउने अश्लील र हिंसात्मक सामग्रीबाट जोगाउन फर्महरूलाई उनीहरूको प्लेटफर्ममा थप जिम्मेवार हुन बाध्य पारेको छ ।

बेलायती समाजको अनलाइन सुरक्षा प्रणालीलाई अहिले मात्र नभई भावी दशकहरूमा पनि सुनिश्चित पार्न यो कानून प्रभावकारी रहने पूर्व विज्ञान, अन्वेषण तथा प्रविधि मन्त्री मिसेल डोनेलनले बताइन् ।

यद्यपि आलोचकहरूले गोपनीयताका लागि प्रभावकारिताको बारेमा चिन्ता व्यक्त गरेका छन्। बेलायत सरकारको यस निर्णयबाट म्यासेजिंग कम्पनी व्ह्वाट्सएपले बेलायतबाट बाहिरिने चेतावनी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू