बुधबार, असोज ३०, २०८१
12:54 | १७:३९

लन्डनमा राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको सम्मान गर्दै मतिना फाउण्डेसन

नेपाली लिङ्क अक्टोबर १६, २०२४

लन्डन । मतिना फाउण्डेसनले राष्ट्रिय धावक बैकुण्ठ मानन्धरलाई लन्डनमा सम्मान गर्ने भएको छ ।  

नेपाल रन युकेको आयोजनामा आगामी २७ अक्टोबरमा हुन लागेको “नर्थोल्ट १० के” रनमा सहभागिता जनाउन धावक मानन्धर १७ अक्टोबर लन्डन उत्रंदै छन् । 

नेपाल र नेपालीको शान मानन्धरको सम्मानमा मतिना फाउण्डेसनले आगामी १९ अक्टोबर, शनिबार साँझ ६ बजे लण्डन इलिङस्थित मोण्टिज तन्दुरी रेष्टुरेण्टमा रात्रीभोज गर्न लागेको संस्थाका सदस्य सुमन प्रधानले जानकारी दिए। 

संस्थाले समय समयमा बेलायत आउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत यसपाली पनि नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद जगतमा चिनाउन सफल व्यक्ति मानन्धरको सम्मानमा रात्री भोज गर्न लागेको हो ।

“मतिना फाउण्डेसन” नेवा: भाषा संस्कृति संरक्षण र प्रबर्द्धन गर्ने उद्धेश्यले सन् २००६ मा स्थापित भएको संस्था हो।

संस्थाले बेला बेलामा नेवा: रितिथिति अनुसारको “इही”, “बारा” जस्ता विशुद्ध क्रियाकलापहरू नेवा: पण्डितकै रोहवरमा गर्ने गर्दछ भने नेपाल भाषा प्रवर्धन कार्यक्रम “लुमन्ती” पनि दुई वर्षको एकपटक मनाउंदै आएको छ। 

सन् २०१७ मा फाउण्डेसनले नेपाल बाहिर पहिलपटक रन्जना लिपि प्रतियोगिता गरेको थियो भने गत सेप्टेम्बर २९ तारिख सम्भवत विश्वमा नै पहिलो पटक नेपाल भाषा शब्द ज्ञान प्रतियोगिता गरेको थियो। 

आधुनिक प्रविधि प्रयोग गरेर संचालन गरिएको सो प्रतियोगितामा दिपक श्रेष्ठ, विजय बज्राचार्य र अन्जु श्रेष्ठ क्रमश: पहिलो, दोश्रो र तेश्रो भएका थिए।

फाउण्डेसनले प्रकाशन गर्दै आइरहेको अनुसन्धनात्मक अन्तराष्ट्रिय पत्रिका “मतिना” भने केही समय यता बन्द छ।

रात्रीभोजमा सहभागी हुन इच्छुकले शशी महाजुलाई ०७८०९८३७११० अथवा अमृतलाई ०७८७७४५३६०७ मा शुक्रवार १८ तारिख दिउँसो १ बजेभित्र फोन गरेर आफ्नो ठाउँ सुरक्षित गर्न सक्ने फाउण्डेसनले जनाएको छ ।

रात्रीभोज शुल्क £३० छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू