आइतबार, असोज २०, २०८१
14:57 | १९:४२

पर्वतारोही निर्मल पूर्जाको चरित्र हत्या गर्ने पत्रिकालाई कारबाही गर्न छानबिन कार्यदल

नेपाली लिङ्क अक्टोबर ६, २०२४

काठमाडौं- नेपाल प्रेस काउन्सिलले लोकप्रिय पर्वतारोही निर्मल पूर्जा र उनको कम्पनीबारे एकतर्फी सामग्री प्रकाशित गरेको भन्दै भारतीय लगानीमा नेपालमा प्रकाशित हुने अंग्रेजी दैनिक द हिमालयन टाइम्स र यसको अनलाइन संस्करणविरुद्ध कारबाही अघि बढाएको छ।

काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा छानबिन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

छानबिन गरी प्रतिवेदन बुझाउन परिषद्का सदस्य ठाकुरप्रसाद बेल्बासेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

विज्ञप्तिमा अनुगमन र कारबाही प्रक्रिया अगाडि बढाउनका लागि काउन्सिलले केही गम्भीर विषयमा अध्ययन गरी अनुसन्धान गर्ने उल्लेख गरेको छ ।

काउन्सिलले असाधारण अवस्थामा मात्र यस्तो कार्यदल बनाएर विशेष अनुसन्धान गर्ने गर्छ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा शुक्रबार बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

‘द हिमालयन टाइम्स’ले मिडिया प्लेटफर्मको दुरुपयोग गरी आरोही पूर्जा र एलिट एक्सपेडको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठामा आँच पुर्‍याएको उजुरीमा आरोप छ ।

काउन्सिलले द हिमालयन टाइम्सलाई सातपटक चेतावनी दिए पनि आचारसंहिता पालना नगरेको पाइएको छ ।

काउन्सिलले गत भदौ ७ गते ‘द हिमालयन टाइम्स’लाई पत्राचार गर्दै अनुगमनका क्रममा एकतर्फी समाचार सामग्री प्रकाशित भएकाले स्पष्टीकरण दिन आग्रह गरेको थियो ।

तर, नेपाली आरोहण क्षेत्र र पर्वतारोहीलाई बदनाम गर्ने उद्देश्यले भारतीय लगानी रहेको उक्त पत्रिकाले रोयल्टी समेत नतिर्ने अष्ट्रेलियाली आरोहीलाई सहयोग गरिरहेको तर आफ्नो  आरोहण कम्पनीलाई विना प्रमाण बद्नाम गर्न खोजेको इलाइट एक्सपेडका गोविन्द कटुवालले बताए ।

उक्त पत्रिकाले सगरमाथा र ल्होत्से आरोहण गर्न नेपाल आएकी अष्ट्रेलियाली महिला आरोही रोचेल गिलमोरलाई कम्पनीलाई पैसा नदिई भाग्दापनि उल्टो इलाइट एक्सपेडको बदनाम गरेको उजुरीमा उल्लेख छ । 

बैठकमा काउन्सिल अध्यक्ष बस्नेत, सदस्य ठाकुर बेल्बासे, शरद अधिकारी, लालबाबु शेख र अञ्जिता खनालको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू