आइतबार, असोज २०, २०८१
13:53 | १८:३८

प्रेस्टनमा दशैं उत्सव, अग्रजले सुनाए सफलताको कथा

नेपाली लिङ्क अक्टोबर ६, २०२४

लन्डन । संयुक्त अधिराज्यको प्रेस्टनमा नेपालीहरुको महान पर्व दशैं उत्सव भव्य रुपमा मनाइएको छ ।

नेपाली समाज प्रेष्टन, बिज एजुकेशन, दारी ग्याङ यूके र यूक्लान नेपलिज सोसाइटीको संयुक्त आयोजनामा शुक्रबार भव्य रुपमा दशैं उत्सव भएको हो ।

उक्त अवसरमा बेलायतमा स्थापित अग्रजहरुले आफ्नो व्यवसायिक तथा करिअर सफलताको कथा सुनाए ।

कार्यक्रम शुरुवात अतिथिहरुलाई स्वागत गर्दै राष्ट्रिय गानबाट गरिएको थियो । कार्यक्रममा नेपाली समाज प्रेस्टनका संस्थापक एवं सफल युवा व्यवसायी हरि कार्कीले आभारसहित सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्दै समाजका हालसम्मका गतिविधि र भावी कार्यक्रमबारे जानकारी दिए ।

सो अवसरमा प्रेस्टनमा २० वर्ष भन्दा लामो समयदेखि बस्दै आएका वरिष्ठ चिकित्सक डा. सत्यन राजभण्डारीले प्रेस्टनमा नेपाली समाजलाई स्थापित गर्न निर्वाह गरेको पहल र आफ्नो लामो यूके बसाईको रोचक अनुभव सुनाएका थिए ।

यस कार्यक्रममा दशैं उत्सवमात्र नभइ बेलायतमा आएर विभिन्न व्यवसायमा सफलता प्राप्त गरेका व्यवसायीहरुले आफ्नो सफलताको सुत्र पनि बांडेका थिए ।

कार्यक्रममा नेपाली समाज प्रेस्टनका संस्थापक, नेपाल चेम्बर अफ कमर्सका मानार्थ व्यापार प्रतिनिधि, नेपाल आविष्कार केन्द्रको भगिनी संस्था फ्रेण्डस् अफ एनआइसी यूके तथा बिज एजुकेशनका निर्देशक हरि कार्कीले यूकेमा आएर गरेको संघर्षदेखि अहिले बिज एजुकेशनबाट सयौं नेपाली विद्यार्थीलाई बेलायतमा ल्याएर उनीहरुको शैक्षिक प्रगतिमा गरेको योगदानबारे चर्चा गरे ।

कार्कीले विद्यार्थी जीवन संघर्षबाट नै गुज्रने भएकाले सानोतिनो उतारचढावबाट विचलित नहुन सुझाव दिए । व्यवसायी कार्कीले बेलायतको नेपाली समुदाय र नेपालमा संस्थागत तथा व्यक्तिगत रुपमा कयौं सामाजिक कार्यहरु गरेको पनि उल्लेख गरे ।

युनिभर्सिटी अफ सेन्ट्रल ल्यानकासायर (यूक्लान) का ग्रयाजुएट एवं एकोर्न रिक्रुटमेन्टका कन्सल्टेन्ट श्याम दाहालले यूकेमा शुरुतिरको संघर्षदेखि अहिले पाएको व्यवसायिक सफलताको कथा बांडे । दाहालले प्रेस्टन बस्ने असंख्य नेपालीलाई रोजगारी अवसर प्रदान गरिरहेको पनि बताए ।

त्यसैगरी, लन्डन निवासी दारी ग्याङ यूकेका सल्लाहकार एवं माया इभेन्ट्स र माया सपोर्टेड लिभिङका निर्देशक सफल युवा व्यवसायी राज पाण्डेले मेहनत गरेर आफ्नो कर्ममा अगाडि बढ्ने हो भने सबैले सफलता पाउन सक्ने प्रेरणादायी मन्तव्य दिएका थिए ।

बेलायत आएको एक दशकमै पाण्डेले लोभलाग्दो व्यवसायिक सफलता चुमेका छन् ।

कार्यक्रममा युनिभर्सिटी अफ सेन्ट्रल ल्यानकासायर (यूक्लान) बाट ग्रयाजुएट गरेका विद्यार्थी र नेपालबाट यूके भ्रमणमा भएका आमाबुवाहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानपछि अग्रहजहरुले ग्रयाजुएट विद्यार्थीको शैक्षिक प्रगतिका लागि बधाई, शुभकामना तथा आशीर्वाद दिएका थिए ।

सांगीतिक सत्रमा बांसुरीवादक सन्दीप खत्रीले बांसुरीको धुनबाट माहोल संगीतमय बनाए भने श्याम दाहालले मादलमा साथ दिएका थिए । सो अवसरमा नाचगान समेत भएको थियो ।

आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने एकोर्न रिक्रुटमेन्टका श्याम दाहाल, यूक्लान नेपलिज सोसाइटी अध्यक्ष मुना घर्तीमगर, दारी ग्याङ यूके अध्यक्ष सुशील गौतम, माया ग्रुपका राज पाण्डे, स्वयंसेवक, अतिथीहरु लगायत सबैप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू