शुक्रबार, असोज १८, २०८१
03:03 | ०७:४८

कांग्रेस नेताहरुसँग लन्डनमा अन्तरक्रिया

नेपाली लिङ्क अक्टोबर ३, २०२४

लन्डन– नेपाली जनसम्पर्क समिति यूकेले बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ’डिना’ तथा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको सम्मानमा स्वागत समारोह आयोजना गरेको छ।

मंगलबार बेलुका फेल्थमस्थित नमस्ते गोर्खा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सह-महामन्त्री ‘डिना’ ले अहिलेको संविधानमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने स्थिति आएकाले संविधान संशोधन गर्नेबारे छलफल शुरु भएको बताइन्। उनले एकल पार्टीको सरकार कसरी बनाउने ? समावेशी प्रणालीलाई कसरी बलियो बनाउने भनेर संविधान संशोधनको कुरा उठाइएको बताइन्।

‘कदमजम’ लागू गरेर कांग्रेसले पहिलोपटक समानुपातिक समावेशी अवधारणा ल्याएको पनि उनले जनाइन्। नेपालमा कोही पनि ‘सांचो कम्युनिष्ट’ नभएको बताउंदै नेतृ  उपाध्यायले कांग्रेसको नेतृत्वमा २०७२ सालमा नयाँ संविधान जारी गरिएपछि सबै कम्युनिष्ट पार्टीहरु संविधानले निर्दिष्ट गरेको मार्गमा सहभागी भइसकेको बताइन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले कांग्रेसको बल भनेकै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरु भएकाले सबै संस्थालाई एकजुट र अनुशासित भएर काम गर्न सुझाव दिए । उनले केन्द्रका कारण जनसम्पर्क समितिहरुमा विवाद उब्जिएको होइन भन्दै सबै साथीहरु बसेर विवाद सुल्झाउन आग्रह गरे।  उनले नेपाली कांग्रेस पार्टी विधान भन्दा बाहिर नजाने बताउंदै नेपाली नागरिक बाहेक अन्य व्यक्ति कांग्रेसको क्रियाशील सदस्य बन्न नपाउने स्पष्ट पारे।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिनले संवाद, सहमति, सहकार्यको माध्यमबाट एकतामा जानु पर्ने बताए। उनले ३० वर्ष भन्दा बढी समयदेखि भूतपूर्व गोर्खा सैनिकहरुले उठाउंदै आएको समान पेन्सनको मुद्दा नेपाल सरकार आफैं अग्रसर भएर समाधान गर्नु पर्ने बताए।

त्यस्तै ब्रिटिश गोर्खा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष केशबहादुर गुरुङले गोर्खा समस्या कूटनीतिक ढंगले समाधान गर्नुपर्नेमा जोड दिए। उनले एक ज्ञापनपत्र बुझाउँदै गोर्खा भर्ती र वंशजको नेपाली नागरिकता पनि निरन्तर हुनुपर्ने माग गरे।

एनआरएनए आइसीसीका पूर्व सल्लाहकार विश्व आदर्श पण्डितले नेपालमा हालै आएको बाढी पहिरो पीडितलाई सक्दो सहयोग गर्न अपिल गरे। उनले जनसम्पर्क समितिहरुमा अहिले देखिएको विवाद संवादको माध्यमबाट विधानको परिधिभित्र रही समाधान गर्न पनि आग्रह गरे ।

‘हामीलाई राजनीतिक अधिकार दिनोस्’

एनआरएनए यूकेका पूर्व मुख्य सल्लाहकार शेर सुनारले वंशजको आधारमा प्राप्त नागरिकता खोस्ने अधिकार कसैलाई छैन भन्दै राजनीतिक अधिकार विनाको एनआरएन नागरिकताको कुनै उपयोगिता नहुने बताए। ‘हामीलाई राजनीतिक अधिकार दिनोस् र हाम्रो पासपोर्टमा ‘एनपी’ थपिदिनोस्’, उनले भने।

एनआरएनए यूकेका पूर्व महासचिव तथा कांग्रेस नेता आर के त्रिपाठीले जनसम्पर्क समिति यूकेले कांग्रेसको तर्फबाट सोसलिष्ट इन्टरन्याशनलको सदस्यता शुल्क तिर्ने देखि भूकम्प र कोभिडका बेला पनि उल्लेख्य सहयोग गरेको स्मरण गरे। उनले बेङ्गलोर जस्तै काठमाडौँलाई पनि ‘टेक हब’ बनाउन पहल गर्नुपर्ने बताए। उनले रुस–युक्रेन तथा इजरायल–प्यालेस्टाइन द्वन्द्वमा नेपाल तटस्थ रहनुपर्ने सुझाव पनि दिए ।

समाजवादी जनता पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख अर्जुन थापाले जनता समाजवादी पार्टी एक लोकतान्त्रिक पार्टी भएकाले नेपाली कांग्रेससंग सहकार्य गरिरहेको बताए । उनले दलहरुभित्रको आन्तरिक लोकतन्त्र महत्वपूर्ण हुने भन्दै देश सामु रहेका समस्याहरु समाधान गर्न सबै लोकतान्त्रिक शक्तिहरु एकै ठाउँमा उभिन सुझाव पनि दिए ।

नेपाली जनसम्पर्क समिति यूकेका पूर्व अध्यक्ष विनोद मोक्तानले नेपाली कांग्रेस तथा जनसम्पर्क समितिमा चुनाव गराउनु पर्ने र लोकप्रिय व्यक्ति जो जितेर आए पनि त्यसलाई मान्नु पर्ने बताए । उनले विसं २०८४ को चुनावमा एक ढिक्का भएर अगाडि बढ्यो भने मात्रै नेपाली कांग्रेसले जित्न सक्ने बताए ।

कार्यक्रम संयोजन गरेका जनसम्पर्क समिति यूकेका कार्यवाहक सभापति रितेशराज पाण्डेले कांग्रेस नेताहरुलाई स्वागत गर्दै केन्द्रले तोकेको अवधिभित्रै जनसम्पर्क समिति यूकेको अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न आफूहरु क्रियाशील रहेको बताए ।

उनले सबैलाई आफ्ना विवादबारे संस्थाभित्रै बसेर छलफल गरी निकास निकाल्न आग्रह पनि गरे । पाण्डेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए।

कार्यक्रममा बिनोद योञ्जनले सबैलाई स्वागत गरेका थिए भने नेपाल सांस्कृतिक महासंघ गण्डकी प्रदेशका संयोजक चोलेन्द्र पौडेल, तस्बिर लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको शुरुमा नेपालबाट आएका नेताहरु, नेपाली जनसम्पर्क समिति क्यानाडाका उपाध्यक्ष डा. जितु उपाध्याय तिमिल्सिना, उपराष्ट्रपतिका सल्लाहकार विनोद पौडेल लगायत अतिथीहरुलाई खादा लगाएर स्वागत गरिएको थियो ।

उक्त कार्यक्रम सञ्चालन नेपाली जनसम्पर्क समिति यूकेका महासचिव इन्द्रहाङ लिङ्गदेनले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू