नेपालको स्थायित्व र समृद्धिका लागि वंशजको अपरिहार्यता



रोसन सापकोटा
मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र एमाले नेतृत्वको वहुमत गठबन्धन सरकारले संविधान संशोधन गर्ने चर्चा अहिले सतहमा आएको छ । कहां के कस्तो संशोधन गर्ने यकिन भइ नसकेपनि ढिलो चांडो यस कार्यले सार्थकता पाउने अपेक्षा छ ।
यही बेला जनप्रतिनिधिमूलक संसदले वंशजको नेपाली नागरिकता कायमै रहन संविधान संशोधनमा विशेष ध्यान दिन आवश्यक देखिएको छ ।
‘वंशज’ भन्नाले सदा सर्वदा अखण्ड रुपमा नेपाली हो । तसर्थ वंशज नेपालको अस्तित्वसंगै जन्मिएको हुंदा कुनै पनि अवस्थामा वंशजबाट प्राप्त नागरिकता खारेजी अथवा तल्लो दर्जाको नागरिकता परिवर्तन अमान्य छ ।
सार्क मुलुकबाहेक विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको संख्या यतिखेर करिब ८० लाख रहेको अनुमान गरिन्छ । उनीहरुको प्रमुख माग एकपटकको नेपाली सधैंको नेपाली भन्ने नै छ । त्यो माग सम्बोधन गर्न, वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) को दफा १०, उपदफा १ मा उल्लेख भएको विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने भन्ने प्रावधान संशोधन गर्न आवश्यक देखिन्छ ।
वाध्यता वा रहरले विदेशिएका नेपालीले आफू बसेको देशको नागरिकता लिनु कुनै अस्वभाविक र अप्रिय निर्णय होइन । बरु उनीहरुले विदेशमा सिकेको ज्ञान, सीप र पूँजी मातृभूमिकै लागि खर्च गरिरहेको हामी पाउंछौं । उनीहरु वंशजका नेपाली नागरिक हुन्, कुनै देशको नागरिकता लियो भन्दैमा उसको वंशज नै नरहने भन्ने कदापी हुन्न । उसको वंशजको नागरिकता खोसेर मातृभूमिसंगको नाता नै टुटाउने अवस्था सृजना गरिनु हुन्न भन्ने मेरो ठहर छ ।
वंशजका नागरिकलाई राज्यले जति महत्व दिन्छ, उनीहरुलाई पनि आफ्नो मातृभूमिप्रतिको माया र लगाव बढी हुने हो । यो अपनत्वले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक विकास र समुन्नति नै वृद्धि हुन्छ । नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था मानिन्छ ।
पछिल्लो घट्नाक्रम हेर्दा लाग्छ, विदेशमा रहेका वंशजका नागरिकलाई पराइ ठान्ने तर छिमेकी मुलुकका लाखौं गैर नेपालीलाई बोलाएर नेपाली नागरिकता दिन थालिएको छ । कालान्तरमा यो कदम आत्मघाती हुने निश्चित छ । विदेशीमूलका नेपाली छिरेर सार्वभौमसत्ता मुलुकमाथि हैकम नजमाउलान् भन्न सकिने स्थिति छैन् । यसले देशको राष्ट्रिय सुरक्षामै खतरा उत्पन्न गराइरहेको अनुभूति भएको छ ।
त्यसकारण गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउनु पर्दछ भन्ने मेरो धारणा छ ।
नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेपनि यो व्यवस्था पूर्ण छैन् ।
विदेशी मुलुकको नागरिकता प्राप्त गरि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशभा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहि पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरि गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ भनिएको छ ।
तर, नेपाल जांदा भिजा लगाउनुपर्ने, घर खेत वा अन्य सम्पत्ति जोड्न नमिल्ने, झन्झटिलो अनि राजनीतिक अधिकार नभएको यो गैर आवासीय नेपाली नागरिकता केवल कागजको खोस्टो हो भन्ने लाग्छ । मेरो व्यक्तिगत र हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुल मुद्दा नै वंशजको नेपाली नागरिकता कायम राख्न पाउनुपर्छ भन्ने छ ।
उदाहरणका लागि विदेशमा बसेर पनि इजरायली नागरिकता लिन मिल्छ यदि निवेदकको कुनै एउटा ग्रयाण्ड प्यारेन्ट्स जीउस छन् भने अथवा निवेदकको जीउस रुट भएको प्रमाण पेश गरेको खण्डमा । आज इजरायल शक्तिशाली र सम्पन्न हुनुमा विदेशमा भएका इजरायली रुट भएकाहरुको देन उल्लेखनीय छ ।
विदेशमा रहेका वंशजलाई देशले आफ्नो संचित तथा रणनैतिक अस्त्र, पूँजीका रुपमा लिइ उनीहरुलाई राष्ट्रसंग अटुट वंशजको नाता कायमै राख्दै देश विकासमा सहयोगी हात बनाउनुपर्छ ।
विदेशीको प्रत्यक्ष लगानी (एफडिआइ) लिएर देश विकास हुन्छ भन्ने सोचबाट मुक्त भइ हाम्रै वंशजको प्रत्यक्ष लगानीले नै देशलाई विकासको बाटोमा लैजान सकिन्छ । विदेशमा रहेका वंशज देशका आभूसण हुन् भन्ने सोचका साथ राज्यले सम्मानसहित पूर्ण रुपमा नागरिकता दिन सक्नुपर्छ । आधुनिक संसारमा वंशजहरुले आर्जेको सीप, शिक्षा, सम्पत्ति राज्यको वृहत हितमा लगाउन सके देशले विकासको गति लिन धेरै समय लाग्दैन ।
म यही लेखमार्फत नेपाल सरकारले प्रत्येक वर्ष अक्टोबर ११ का दिन गैरआवासीय नेपाली दिवस (एनआरएन डे) मनाउने घोषणा गरे बमोजिम गैर आवासीय नेपाली संघ केन्द्रिय समितिले यसलाई वंशज डेका रुपमा मनाउनु पर्दछ । प्रवासमा रहेका लाखौं नेपालीको प्रतिनिधिमूलक छाता संगठन एनआरएनले अब वंशजको नेपाली नागरिकता निरन्तरताका लागि लवी गर्न जरुरी छ, हामी गैर आवासीय नागरिकतामा रमाउने बेला छैन् ।
(लेखक सापकोटा प्रवासी नेपाली एकता समाज (पानस) यूकेका अध्यक्ष हुन्)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५