शुक्रबार, असोज १८, २०८१
05:55 | १०:४०

आसफोर्ड केन्टमा गुन्जियो च्याब्रुङ धुन

नेपाली लिङ्क अक्टोबर २, २०२४


लन्डन–गत शनिबार आसफोर्ड, केन्टको सेन्ट साइमन चर्च हाक्पारे, पालाम, साम्लो र च्याब्रुङ धुनले गुन्जायमान भयो ।

लिम्बु गरगहना र पहिरनमा सजिएका याक्थुङ महिला र पुरषहरु आफ्नो परम्पारगत धान नाच्न र पालाम गाउन मस्त देखिन्थे । यो दृष्य देख्दा पूर्वी नेपालको पहाडी भेगमा लाग्ने पुसेमेला, त्रिशलीमेला वा मदन मेलाको झल्को दिन्थ्यो । 

सेवारो कलाकार संघ यूकेले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बेलायत बस्ने लिम्वुहरुले यो अवसर प्राप्त गरेका हुन् । 

बेलायत भ्रमणमा रहेका नेपालका ख्यातिप्राप्त पालाम, हाक्पारे गायक तथा मोडल जीवन केदेमको सम्मानमा आयोजित सो सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिए । 

भक्ति आङदेम्वे, दिलु मादेन, माक्सोती ओख्रावो, राजेन नेम्वाङ, भगवती थलङ, हेम लिम्वु, गंगा लिम्वु लगायत कलाकारहरुले च्याव्रुङ नाच, धान नाच, हाक्पारे थक थाक्मा केलाङ, ताम्के साम्लो गाएका थिए भने कलाकार भक्ति आङदेम्वेको अगुवाईमा याक्थुङ समुदायमा लोप हुन लागेको लाङवा उङवा र तुरुप्पे नाचहरु प्रस्तुत गरिएको थियो । 


उक्त सांस्कृतिक कार्यक्रम सानु सुव्वाले विशुद्ध लिम्वु भाषामा आकर्षक रुपमा संचालन गरेकी थिइन् ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा सगरमाथा नेपलिज कम्युनिटी, आसफोर्ड यूके अध्यक्ष डम्वर सिङ्क उपस्थित थिए । उनले सेवारो कलाकार संघले लिम्वु कला र संस्कृतिका लागि गरेको योगदानको कदर गर्दै अझै राम्रा कार्यक्रम आयोजना गर्न शुभकामना दिए । 

अध्यक्ष दुर्गा पाङमाको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार जीवन केदेमलाई प्रशंसा पत्र तथा गलबन्दी ओढाएर सम्मान गरिएको थियो । 

सम्मान ग्रहणपछि केदेमले हरेक कलाकारको रुट उसको संस्कार संस्कृति र कला हुने उल्लेख गर्दै याक्थुङहरु प्रकृति पुजक भएकाले धर्तीआमालाई खुशी बनाउन नसके पहिचान मेटिदै जाने बताए ।

उनले विदेशमा पनि आफ्नो पहिचान जोगाउने महत्वपूर्ण योगदानका लागि सेवारो कलाकार संघ यूकेलाई धन्यवादसहित सबैलाई एकजुट भएर अगाडि बढ्न आवह्वान गरे । 

सोही कार्यक्रममा किरात याक्थुङ चुम्लुङ आसर्फोड शाखा र थामेन्दिङमा चुम्लुङ यूकेले पनि केदेमलाई आर्थिक उपहार दिंदै       सम्मान गरेको थियो ।


संस्थापक अध्यक्ष काजीमान याक्सोले कार्यक्रमलाई सम्वोधन गर्दै सेवारो कलाकार संघ स्थापनाको उद्देश्य तथा यसले गरेका कार्यबारे चर्चा गरे ।

संघका महासचिव जय मादेम्वाले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष विमला लिम्वुले स्वागत मन्तव्य दिएकी थिइन् ।

कार्यक्रममा अध्यक्ष दुर्गा पाङमाले नेपाल पत्रकार महासंघ यूकेकी नवनिर्वाचित अध्यक्ष विमला सेनेलाई सिलाम साक्मा लगाएर वधाई तथा सम्मान गरेकी थिइन् भने किरात याक्थुङ चुम्लुङ यूके केन्द्रिय कार्यसमितिमा चयन भएका उपाध्यक्ष सानु सुव्वा र सहसचिव शकुन्तला नेम्वाङलाई पनि सिलाम साक्मा लगाइदिएर वधाई तथा कार्य सफलताको कामना गरिन् ।

साथै नयाँ सदस्यता प्राप्त गर्ने कलाकारहरुलाई स्वागत गरिएको थियो ।


कार्यक्रममा लिम्बुवान नागरिक समाज यूके अध्यक्ष छत्र वनेम, थामेन्दिङ चुम्लुङका अध्यक्ष मन माया नेम्वाङ, नेपाली कलाकार प्रस्तोता समाजका महासचिव गंगाराज राई, के वाई सि यूके आश्फोर्ड शाखा अध्यक्ष सुन्दर लिङ्थेप लगायत बेलायतस्थित लिम्वु समुदायको उल्लेख्य उपस्थिति थियो ।

सन् २०१२ मा स्थापना भएको सेवारो कलाकार संघले वेलायतमा रहेका लिम्वु कलाकारहरुलाई संगठि गरी याक्थुङ, भाषा, कला, संस्कृति जर्गेना र पुस्ता हस्तान्तरणमा योगदान गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू