बिहीबार, माघ १०, २०८१
20:01 | ०१:४६

अविरल वर्षाका कारण देशैभर प्रभावित, काठमाडौँ उपत्यकामा २१ को मृत्यु

रासस सेप्टेम्बर २८, २०२४


काठमाडौँ, असोज १२ गते । वर्षाजन्य विपदमा परी काठमाडौँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् ।

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए । 

बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए । 

यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले जानकारी दिए ।

शुक्रबार साँझदेखि शनिबार बिहान पौने दस बजेसम्म १२ जिल्लामा बाढी—पहिरोले क्षति पुर्‍याएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

उपत्यकाबाहिर विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


उद्धार कार्यमा ढिलाइ नगर्न प्रधानमन्त्रीको निर्देशन 

उता प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । साथै उनले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको सामना गर्न आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत देशभरि अविरल वर्षाले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोबाट सतर्कता अपनाउन सबैलाई आग्रह गरेका हुन् । उनले वर्षाबाट भएको असरबारे गृहमन्त्री रमेश लेखकसँग टेलिफोन गरी विवरणसमेत लिएका थिए ।

“बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा जनधनमा क्षति भएका खबर आइरहेका छन् । आज गृहमन्त्री लेखकसँग टेलिफोन गरी यससम्बन्धी सबै जानकारी लिएको छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन् । गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई उद्धार तथा राहत सामग्री वितरणमा खटाइएको जानकारी दिएका थिए ।

“केही ठाउँमा उद्धारमा ढिलाइ भएको जानकारी प्राप्त भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिम्मेवारीपूर्वक उद्धार कार्य अघि बढाउनु होला”, प्रधानमन्त्रीले निर्देशन दिँदै लेखेका छन्, “मौसमविद्हरुका अनुसार आज पनि वर्षा हुनेछ । उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौँ । भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौँ ।”

मनोहराखोलमा आएको बाढीले शनिबार डुबानमा परेको कोटेश्वर, बालकुमारी पुल क्षेत्र । तस्बिर: किरणराज बिष्ट / रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू