शुक्रबार, असोज १८, २०८१
03:23 | ०८:०८

बेलायतको सिजनल भिसा खुलाउन वैदेशिक रोजगार व्यवसायीको माग

नेपाली लिङ्क सेप्टेम्बर २७, २०२४


काठमाडौं–बेलायतमा नेपालबाट मौसमी कामदार (सिजनल भिसा) मा नेपाली श्रमिक पठाउन लगाइएको रोक खुलाउन सरकारले पहल गरिदिन वैदेशिक रोजगार व्यवसायीले माग गरेका छन् ।

गोफण्ड इन्टरनेसनल लिमिटेडले काठमाडौंमा गरेको एक कार्यक्रममा उनीहरुले सन् २०२३ पछि यूकेले नेपालबाट कृषि क्षेत्रमा सिजनल भिसामा श्रमिक लैजान लगाएको रोक खुलाउन सरकारी तहबाट प्रयास गर्नुपर्ने बताए ।

गोफण्ड इन्टरनेसनल लिमिटेडका सल्लाहकार क्रिस रोबकले रोक लगाउँदा नेपाली श्रमिकले अवसर गुमाइरहेको बताए । ‘यूकेको कृषिमा आप्रवासी श्रमिकको माग धेरै छ । तर नेपाल त्यो अवसरबाट वञ्चित छ’- उनले भने । 

उनका अनुसार यूकेले वार्षिक ४५ हजार बराबरको आप्रवासी श्रमिक भित्राइरहेको छ । तर सिजनल भिसामा नेपाली श्रमिक लैजान बन्द गरेकाले यो अवसर नेपालले गुमाउनु परेको छ । 


नेपालबाट सिजनल भिसामा श्रमिक पठाउंदा म्यानपावार कम्पनीबाट श्रमिक ठगिएको, भिसा सकिएपछि गैरकानुनी बसाइजस्ता कारण देखाएर यूकेले नेपालबाट सन् २०२३ बाट श्रमिक लैजान बन्द गरेको थियो । सन् २०२२ मा ३ हजार ६०० श्रमिक सिजनल भिसामा यूके गएका थिए । तर त्यसपछि यूकेले श्रमिक लैजान मानेको छैन ।

अब भने यूकेले श्रमिक लैजान लगाएको रोक खुलाउन नेपाल सरकारले प्रयास थाल्नुपर्ने रोबकले बताए । ‘सन् २०२९ सम्म यूकेले यही भिसामा श्रमिक लैजानेछ’ उनले भने, ‘अहिलेकै अवस्था रह्यो भने नेपालीले श्रमिकले यो अवसर पाउने छैनन् । नेपाल सरकारले श्रमिक पठाउने कुरामा पहल थाल्नुपर्छ ।’

कार्यक्रममा सहभागी व्यवसायीले नेपाल सरकारले यूके सरकारसँग श्रमिक पठाउने विषयमा प्रयास नगर्दा नेपाली श्रमिकले अवसर गुमाइरहेको धारणा राखेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू