शुक्रबार, असोज ११, २०८१
23:16 | ०४:०१

लन्डन ग्रीनवीच बरोमा लोकसेवा आयोग प्रतिनिधिमण्डलको अवलोकन भ्रमण

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२४

लन्डन- बेलायत भ्रमणमा आएको लोकसेवा आयोगको प्रतिनिधिमण्डलले लन्डनको ‘रोयल बरो अफ ग्रीनवीच’ अवलोकन भ्रमण गरेको छ।

आयोगका प्रमुख माधवप्रसाद रेग्मी नेतृत्वको ११ सदस्यीय टोलीले विहीबार वुल्लीच टाउन हलस्थित बरो कार्यालय पुगेर अवलोकन तथा अन्तरक्रिया गरेका हुन्।

आयोगका अधिकारीहरुसंगको अन्तरक्रियामा बरोका मेयर काउन्सिलर जीत रानाभाटसहित काउन्सिलर तथा कर्मचारीहरुको सहभागिता थियो ।

सो अवसरमा ग्रीनवीच बरोका ह्युमन रिसोर्स म्यानेजर स्टेफनी र सारा टमसनले एक प्रिजेन्टेसनमार्फत् बरोले अवलम्बन गर्ने रिक्रुटमेन्ट प्रोसेसबारे आयोगका अधिकारीहरुलाई अवगत गराएका थिए ।
आयोगका अधिकारीले राखेका विभिन्न जिज्ञासाहरुमा समेत उनीहरुले जवाफ दिएका थिए ।

अन्तरक्रियाका क्रममा बरोका मेयर जीत रानाभाटले लोकसेवा आयोगका अधिकारीसंग अनुभव आदानप्रदान गर्न पाउँदा खुशी व्यक्त गरे ।

बरोमा नेपाली मूलबाट पहिलोपटक मेयर निर्वाचित हुन सफल रानाभाटले नेपालमा ज्ञान तथा सीप हस्तान्तरणका लागि आफूले विभिन्न अवसरमा पहल गर्दै आएको जानकारी गराए।

आयोगको प्रतिनिधिमण्डलले पनि बरो भ्रमण जानकारीमूलक भएको भन्दै मेयर रानाभाट र बरोका अधिकारीहरुलाई धन्यवाद दिएका थिए ।

त्यस अवसरमा आयोगका अधिकारीहरुलाई मेयर जीत रानाभाट र स्थानीय समाजसेवी व्यवसायी बालजंग अर्यालले बरोको ब्याज र खादासहित सम्मान गरेका थिए ।

उनीहरुलाई बरोको काउन्सिल च्याम्बरकोसाथै बरोको सिटिजनसीप समारोहको पनि अवलोकन गराइएको थियो।

सो अवसरमा लन्डन सिडनहमस्थित ‘द गोर्खाज रेष्टुरेन्ट’ का तर्फबाट सञ्चालक बालजंग अर्यालले लञ्च होस्ट गरेका थिए ।

आयोगको प्रतिनिधिमण्डलमा प्रमुख रेग्मीसंगै सदस्यहरु माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जु कुमारीसहित पदाधिकारी एवम् कर्मचारीहरु संलग्न थिए।

उनीहरु पाँच दिने औपचारिक अध्ययन भ्रमणका लागि बेलायत आएका हुन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू