बुधबार, असोज ९, २०८१
22:31 | ०३:१६

लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन: राष्ट्रसङ्घ

रासस/एएफपी सेप्टेम्बर २१, २०२४

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्क

संयुक्त राष्ट्रसङ्घ, असोज ५ गते । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।

इरान समर्थित हेजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरणलाई लक्षित गरी मङ्गलबार र बुधबार भएको विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो भने करिब ३ हजार जना घाइते भएका थिए ।

‘पेजर’ र ‘वाकी–टकी’ विस्फोट हुँदा केही प्रयोगकर्ताहरू सुपरमार्केटमा किनमेल गरिरहेका थिए भने कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देशमा आतङ्क निम्त्याएको थियो ।

“अन्तर्राष्ट्रिय मानवीय कानुनले स्पष्ट रूपमा बुबी–ट्रयाप उपकरणको प्रयोगलाई निषेध गर्दछ”, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले अल्जेरियाले अनुरोध गरेको लेबनानमा आपत्कालीन सत्रमा सुरक्षा परिषदमा भने ।

“नागरिकहरूमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध हो”, उनले “स्वतन्त्र र पारदर्शी” अनुसन्धानका लागि आफ्नो आह्वान दोहोरयाउँदै भने ।

लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् र लक्षित सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नु अघि बुबी–ट्रयाप जडान गरिएको बताएका छन् ।

हेजबुल्लाहले इजरायलसँग प्रतिशोध लिने वाचा गरेको छ र विस्फोटको आफ्नै आन्तरिक अनुसन्धान सुरु गरेको छ ।

सुरक्षा परिषदमा बोल्दै लेबनानका शीर्ष कूटनीतिज्ञ अब्दल्लाह बोउ हबीबले आक्रमणलाई युद्धको अभूतपूर्व तरिकाको रूपमा व्याख्या गरेका छन् ।

“इजरायलले यस आतङ्कवादी आक्रमणको माध्यमबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारभूत सिद्धान्तको उल्लङ्घन गरेको छ”, उनले बताए । इजरायलले उपकरण विस्फोटबारे कुनै टिप्पणी गरेको छैन ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार बेरुतमा इजरायली आक्रमणपछि लेबनान–इजरायल सीमामा बढेको तनावबारे राष्ट्रसङ्घ चिन्तित रहेको बताए । उनले सबै पक्षलाई अधिकतम संयमता अपनाउन पनि आह्वान गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू