बिहीबार, मंसिर ६, २०८१
15:38 | २१:२३

मेटाद्वारा रुसी सञ्चारमाध्यममाथि प्रतिबन्ध

रासस/एएफपी सेप्टेम्बर १७, २०२४

सान फ्रान्सिस्को, असोज १ गते । टेक जायन्ट कम्पनी मेटाले सोमबार विदेशी हस्तक्षेप गतिविधि बढाएका कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ ।

संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको कर्मचारी र यसका प्रधानसम्पादकलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा प्रतिबन्ध लगाएको केही समयपछि मेटाले यो घोषणा गरेको हो । यूएस स्टेट डिपार्टमेन्टले आरटी लाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशहरूमा ‘सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिद’ मा संलग्न भएको आरोप लगाएको छ ।

“सावधानीपूर्वक विचार गरेपछि, हामीले रूसको राष्ट्रिय सञ्चारमाध्यम विरुद्ध हाम्रो चलिरहेको प्रवर्तन विस्तार गरेका हौँ ”,मेटाले बताएको छ ।

“रोसिया सेगोडन्या, आरटी र अन्य सम्बन्धित संस्थाहरूलाई अब विदेशी हस्तक्षेप गतिविधिका लागि विश्वव्यापी रूपमा हाम्रा सञ्जालहरुबाट प्रतिबन्ध लगाइएको छ”, मेटाले भन्यो ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि आरटीलाई गैरकानुनी रुपमा सञ्चालित रहेको आरोपमा बेलायत, क्यानडा, युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकामा औपचारिक रुपमा प्रतिबन्ध लगाइएको थियो ।

आरटीमाथि अमेरिकाविरुद्ध भ्रामक सूचना फैलाउने गोप्य परियोजनाको रुपमा अनलाइन सामग्री निर्माण कम्पनी ‘टेनेसी’लाई वित्तपोषण गरेको अभियोग लगाइएको हो ।

सन् २०२३ को अन्त्यमा सुरु भएदेखि रुसले समर्थन गरेको अमेरिकी अनलाइन सामग्री निर्माण कम्पनीले अमेरिकाविरुद्ध लगभग २ हजार भिडियो पोस्ट गरेको छ । भिडियोहरु युट्युबमा मात्रै एक करोड ६० लाखभन्दा बढी पटक हेरिएको अभियोगमा उल्लेख गरिएको छ ।

मेटाले यसअघि रूसी इन्टरनेट अनुसन्धान विभागको विदेशी हस्तक्षेप गतिविधि विफल पार्न रसियाको सङ्घीय समाचार समितिलाई प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू