बिहीबार, असोज ३, २०८१
02:18 | ०७:०३

लन्डनमा यती इन्फा यूके अवार्डः अनमोल उत्कृष्ट अभिनेता, केकी अभिनेत्री

नेपाली लिङ्क सेप्टेम्बर १५, २०२४

लन्डन । लन्डनमा आयोजित यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा यूके २०२४) मा अनमोल केसी र केकी अधिकारी उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन् ।

शनिबार लन्डन ग्रीनफोर्डस्थित टाउन हलमा आयोजित समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड ‘फर्की फर्की’ फिल्मबाट अनमोल केसीले पाए भने उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘प्रसाद २’ फिल्मबाट नायिका केकी अधिकारीले पाइन् ।

उत्कृष्ट चलचित्रको अवार्ड ‘जारी’ फिल्मले पाएको छ । उत्कृष्ट निर्देशकको अवार्ड ‘जारी’ फिल्मबाटै उपेन्द्र सुब्बाले पाए ।

वेष्ट एक्टर (जुरी) ‘पुजार सार्की’ फिल्मबाट प्रदीप खड्काले पाएका छन् । पब्लिक च्वाइस फिमेल अवार्ड ‘फर्की फर्की’ फिल्मबाट जसिता गुरुङले पाइन् भने पब्लिक च्वाइस अवार्ड मेल ‘पुजार सार्की’ बाट पल शाहले पाए ।

त्यसैगरि, वेष्ट एक्ट्रेस (जुरी) सुपला सापकोटा र पपुलर एक्टर अफ द इयर अवार्ड ‘जारी’ फिल्मबाट दयाहाङ राईले पाए ।

सर्वोत्कृष्ट कथा-पटकथाको अवार्ड ‘दिमाग खराव’ बाट आकाश बराल, सर्वोत्कृष्ट छांयाकार ‘प्रसाद २’ बाट राजेश श्रेष्ठ, सर्वोत्कृष्ट पाश्र्वगायक कालिप्रसाद बास्कोटा चरी बस्यो (जारी), सर्वोत्कृष्ट पाश्र्वगायिका समीक्षा अधिकारी ‘बोक्सीको घर’ (बुझिन मैले), सर्वोत्कृष्ट नृत्य अवार्ड निर्देशक ‘पुजार सार्की’ बाट शिशिर खत्री (दर्शन गरें) ले पाए । इन्करेजमेन्ट अवार्ड फिल्म ‘लन्डन टु पेरिस’ बाट नायिका गरिमा शर्माले पाइन् ।

अभिनेता अनमोल केसी

५५ हजार रुपैयां नगदसहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट अभिनेता भुवन केसी सम्मानित भए । केसीले आफ्नो फिल्मी करिअरमा यो अवार्ड पहिलोपटक भएको जनाउंदै यसबाट झन् हौसला मिलेको बताए । स्टेजमा अनमोलले आफ्ना बाबु भुवन केसीलाई निहुरिएर ढोग्दा माहोल निकै भावुक बनेको थियो ।

वेष्ट नेगेटिभ क्यारेक्टरको अवार्ड ‘प्रसाद २’ बाट अर्पण थापा, वेष्ट म्यूजिक डिरेक्टर ‘बोक्सीका घर’ का लागि प्रकाश सपुत, वेष्ट इडिटर ‘फर्की फर्की’ फिल्मबाट सुरेन्द्र पौडेल, वेष्ट परफर्मर अफ द इयर सुशान्त खत्रीले पाए ।

अवार्डका लागि सन् २०२३ मा बनेका कुल ५६ वटा नेपाली चलचित्रबाट उत्कृष्ट छानिएको थियो । २२ विद्यामा अवार्ड दिइएको आयोजकले जनाएका छन् ।

वरिष्ठ कलाकारहरु सुनिल थापा, गौरी मल्ल र उज्जवल घिमिरेको एक जुरीले ति फिल्म २६ दिन लगाएर मूल्यांकन गरेको थियो ।

कार्यक्रममा कार्यवहाक राजदूत रोशन खनाल, प्रमुख प्रायोजक माया इभेन्ट्स र माया सपोर्टेड लिभिङका निर्देशक एवं यती 
स्पोर्टस् सेक्रेटरी राज पाण्डे एवं डा. रक्षा थापा, काउन्सिलर लक्ष्य गुरुङ, व्यवसायीहरु सुनिल थापा, अभिषेक भट्टराई, विकास नेपाल, यती अध्यक्ष पिपला देवान पाण्डे, यती महासचिव टंक भट्टराई, यती उपमहासचिव आशिष पन्त लगायतले अवार्ड प्रदान गरेका थिए ।

अवार्ड कार्यक्रममा कलाकारहरु भुवन केसी, गौरी मल्ल, अनमोल केसी, केकी अधिकारी, जसिता गुरुङ, मिरुना मगर, जिया केसी, सुशान्त खत्री, मलिना जोशी, गरिमा शर्मा, शिल्पा मास्के, प्रकाश शाह, गायिका अमृता लिम्बु आदि प्रत्यक्ष सहभागी थिए ।

सो अवसरमा नेपालबाट नायिकाहरु गरिमा शर्मा, शिल्पा मास्के, सुशान्त खत्री लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । गायक अर्जन पाण्डेले गायन प्रस्तुत गरे ।

सन् १९६० मा स्थापित युरोपकै सबैभन्दा पुरानो नेपाली सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेले पहिलोपटक अवार्ड कार्यक्रम गरेको हो । विगतमा महोत्सव भनेर केही फिल्महरु प्रदर्शन गर्ने गरिएपनि बेलायतमा यस स्तरको अवार्ड कार्यक्रम पहिलो भएको दावी आयोजकको छ ।

नायिका केकी अधिकारी

कार्यक्रमकी प्रमुख अतिथी कार्यवहाक राजदूत रोशन खनालले यस्ता कार्यक्रमले विदेशमा नेपाली चलचित्र प्रवर्धन र कलाकारहरुलाई थप प्रोत्साहन मिल्ने बताउंदै आयोजकको प्रशंसा गरिन् ।

यती महासचिव टंक भट्टराई र मिस वर्ल्ड नेपाल २०११ मलिना जोशीले सञ्चालन गरेको कार्यक्रममा यती अध्यक्ष पिपला देवानले नेपाली चलचित्र उद्योगको प्रवर्धन एवं कलाकारहरुलाई सम्मान गर्न बेलायतमा पहिलोपटक उत्कृष्ट स्तरमा अवार्ड कार्यक्रम गरिएको बताइन् ।

अवार्ड इभेन्टका प्रमुख संयोजक उमेशराज मोक्तानले कार्यक्रम गर्न चुनौतिपूर्ण भएपनि सबैको साथ सहयोगले सफल भएको बताए । उनले अहिले भएका कमीकमजोरी आगामी वर्षहरुमा सुधार गर्दै लगिने प्रतिवद्धता व्यक्त गरे ।

इभेन्टको प्राविधिक पक्ष के के फिल्मस् एण्ड मिडिया र साउण्ड इन्जिनियर हेम विष्टले सम्हालेका थिए । प्राविधिक रुपमा उत्कृष्ट मानिएको उक्त कार्यक्रमका लागि नेपालबाट संगीक्षा फिल्मस् इन्टरटेन्मेन्टले संयोजन गरेको थियो । सो अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठ र लाखे नाचका प्रवर्तक विनोद चिपालु लगायत प्रायोजकहरुलाई विशेष सम्मान गरिएको थियो ।

सबै तस्विरः के के फिल्मस् एण्ड मिडिया

आयोजक टिम

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू