मंगलबार, असोज १, २०८१
15:57 | २०:४२

नेपालको जलविद्युतबारे लन्डनमा विद्वत् प्रवचन तयारी

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२४


लन्डन–ब्रिटेनको प्रतिष्ठित प्राज्ञिक संस्था रोयल एसियाटिक सोसाइटीमा आउँदो महिना नेपालको जलविद्युत क्षेत्रबारे एउटा विद्वत् प्रवचन आयोजना हुने भएको छ ।

आउँदो ८ अक्टोबर २०२४ (मंगलबार) बेलुका ६:३० बजेदेखि रोयल एसियाटिक सोसाइटीको पश्चिम लन्डनस्थित कार्यालय 14 Stephenson Way, London NW1 2HD मा उक्त व्याख्यान हुने छ। 

सो अवसरमा सिकागोस्थित युनिभर्सिटी अफ इलिनोयमा इतिहास तथा मानवशास्त्रका प्राध्यापक प्रा मार्क लिख्टीले “नेपालमा जलविद्युत विकासका पाठहरु” विषयमा व्याख्यान दिने छन् ।

बेलायतको युनिभर्सिटी अफ लिड्समा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले अन्तरराष्ट्रिय कानूनमा पुर्‍याएको योगदानको कदर गर्दै उनका सहकर्मी तथा मित्र डा जेम्स जे बुसुटिलले प्रत्येक वर्ष नेपालको विषयमा प्रकाशित हुने पुस्तक वा अनुसन्धानमूलक आलेखलाई रोयल एसियाटिक सोसाइटीमार्फत प्रदान गर्ने गरी “प्रा सूर्य सुवेदी पुरस्कार” स्थापना गरेका थिए।

सन् २०२३ मा स्थापित उक्त पुरस्कार जित्ने प्रा लिक्टी पहिलो व्यक्ति हुन्। 

उनले नेपालको आधुनिक इतिहास, मध्यम वर्गको संस्कृति, पर्यटन तथा विकास लगायत विषयमा ६ वटा पुस्तक लेखन तथा सम्पादन गरेका छन्।

कार्यक्रम सबैका लागि खुला छ । प्रत्यक्ष उपस्थित हुन नसकेमा [email protected] मा इमेल गरेपछि उक्त कार्यक्रमको जुम लिंक पठाइने सोसाइटीले जनाएको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू