बिहीबार, माघ १०, २०८१
22:49 | ०४:३४

दशैंमा उपत्यकालाई २३ हजार खसीबोका

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२४

काठमाडौं- यसपालिको दशैंमा काठमाडौँ उपत्यकामा २३ हजार खसीबोका तथा च्याङ्ग्रा खपत हुने अनुमान गर्दै सरकारी निकाय र निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन।

दसैँ आउन तीन साता बाँकी रहँदा व्यवसायीले खसीबोका खरिद गर्ने तयारी गरेका हुन्। घटस्थापनाको दिनदेखि उपत्यकामा ठूलो संख्यामा खसीबोका भित्रिने गर्छन् । व्यवसायीले गाउँ गाउँमा गएर खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन्।

काठमाडौँ चौपाया खरिद बिक्री व्यवसायी संघका व्यवस्थापक जीवनराज खड्काले यसपालिको दशैंमा २२ देखि २३ हजार संख्यामा खसीबोका खपत हुने अनुमान गरिएको जानकारी दिए । ‘आर्थिक शिथिलताका कारण उपभोक्ताको आम्दानी कम हुँदा बजारमा खसीबोकाको माग धेरै नहुन सक्छ’, उनले भने, ‘तै पनि गत वर्षकै हाराहारीमा खसीबोका खपत हुने देखिन्छ ।’

कोभिड हुनुभन्दा अगाडि दशैंमा उपत्यकामा ठुलो संख्यामा खसीबोका खपत हुने गरेकोमा पछिल्लो समय खपत क्रमिक रूपमा घट्दै गएको उनको भनाइ छ ।

हाल बजारमा जिउँदो खसीबोका प्रतिकेजी ६५० देखि ६८० रुपियाँसम्म छ । तयारी मासु भने प्रतिकेजी एक हजार तीन सयदेखि एक हजार चार सय रुपियाँ छ । खसीको मासुको मूल्य पनि गत वर्षकै हाराहारीमा छ । हाल कलंकी खसी बजारमा दैनिक पाँच सयको संख्यामा खसीबोका भित्रिने गरेका छन् ।

अन्य समयको तुलनामा दशैंको घटस्थापना दिनदेखि उपत्यकामा धेरै संख्यामा खसीबोका भित्रिने गरेका छन् । निजी व्यवसायीले धादिङ, चितवन, दाङ, सल्यान, रुकुम, रोल्पा, कैलाली, कञ्चनपुरलगायतका जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले आगामी दशैंमा एक हजार पाँच सय खसीबोका र तीन सय च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने तयारी गरेको जानकारी दिइन् । दशैंमा उपभोक्तालाई सहुलियतमा उपलब्ध गराउन खसीबोका खरिद गर्न लागिएको उनले जानकारी दिइन् ।

खसीबोका खरिद गर्न चार करोड रुपियाँ छुट्याइएको उनले जानकारी दिइन् । कम्पनीले हेटौँडा र तुलसीपुरबाट खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । गत वर्ष कम्पनीले एक हजार ६५९ खसीबोका र ५४२ च्याङ्ग्रा बिक्री गरेको थियो ।

गत वर्ष प्रतिकेजी निर्धारित बजार मूल्यमा प्रतिकेजी १० रुपियाँ छुट दिएर खसीबोका र च्याङ्ग्रा बिक्री गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू