मंगलबार, असोज १, २०८१
14:58 | १९:४३

निषेधित क्षेत्रमा पूर्व मुख्यमन्त्रीले शुरु गरे आमरण अनशन

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२४

मोरङ-जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपासको क्षेत्रमा कुनै पनि विरोध प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेकै ठाउँमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन्।

उनी मंगलबार दिउँसो ४ बजेबाट प्रदेशसभा भवन नजिकै रहेको देवकोटा चोकमा आमरण अनशन बसेका हुन्।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार एक सूचना जारी गर्दै उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जारी गरेको सूचनामा आदेशको उलंघन गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने भनिएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न नौ बुँदे माग राख्दै पूर्व मुख्यमन्त्री कार्की आमरण अनशन बसेका हुन्।

उनले आफू नेतृत्वको सरकारले सुरु गरेको दश वर्षमुनिका बालबालिकाका लागि विशेषज्ञ उपचार सेवामा दिन थालेको निःशुल्क सेवालाई निरन्तरता दिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई दिन थालेको प्रोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने, घिउ तथा धुलो दूध निर्यात अनुदान दिएर प्रोत्साहन गर्नुपर्ने माग गर्दै अनशन बसेका हुन्। वर्तमान सरकारले ती कार्यक्रम चालु वर्षको बजेटमा समावेश नगरेपछि उनले निरन्तर विरोध गर्दै आएका छन् ।

पूर्वमुख्यमन्त्री कार्कीले प्रदेशले सञ्चालन गर्ने योजना न्यूनतम २५ लाख रुपियाँ भन्दा बढी हुनुपर्ने, सुनसरी–मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जङ्गल निर्माण गर्नुपर्ने माग पनि अगाडि सारेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू