मंगलबार, असोज १, २०८१
15:57 | २०:४२

लन्डन चिजलहर्स्टमा नयाँ व्यवस्थापनसहित शुभारम्भ भयो ‘गोर्खा स्क्वायर’

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२४


लन्डन-लन्डनको चिजलहर्स्टमा नेपाली तथा इण्डियन कुइजिन पस्किने ‘गोर्खा स्क्वायर रेष्टुरेन्ट’ नयाँ व्यवस्थापनमा शुभारम्भ गरिएको छ ।

चिजलहर्स्टको बेलमन्ट लेनस्थित रेष्टुरेन्ट आइतबार विशेष समारोहबीच स्थानीय ब्रम्ली काउन्सिलका मेयर काउन्सिलर डेभिड जेफरिजले उद्घाटन गरे।

६ वर्षअघि नै सञ्चालनमा आएको रेष्टुरेन्टमा विगत केहि महिनादेखि भने व्यवस्थापन परिवर्तन भएको छ ।

इन्डियन तथा नेपाली रेष्टुरेन्टमा लामो अनुभव बटुलेका सेफद्वय रामकृष्ण अर्याल र उत्तम गौतम गोर्खा स्क्वायरका नयाँ सञ्चालक हुन् ।

भारतमै थुप्रै रेष्टुरेन्ट, होटेलदेखि मध्यपूर्व हुंदै बेलायतका प्रतिष्ठित इण्डियन रेष्टुरेन्टहरुसम्ममा काम गरेको अनुभव उनीहरुसंग छ ।

गोर्खा स्क्वायरमा जम्मा ५० ग्राहक अट्ने क्षमता छ । रेष्टुरेन्ट हरेक दिन साँझ ५ बजेदेखि बेलुका ११ बजेसम्म ग्राहकको सेवामा खुला रहन्छ ।

गोर्खा स्क्वायरले रेष्टुरेन्ट डाइनिङका साथै टेकवे, डेलिभरी सेवा पनि उपलब्ध गराएको छ । उबर इट, जस्ट इट, डेलिभरुसहितका अनलाइन प्लेटफर्मदेखि रेष्टुरेन्टको आफ्नै वेबसाइटबाट पनि अर्डर गर्न सकिने प्रबन्ध छ ।

गोर्खा स्क्वायरको अर्को महत्वपूर्ण सेवा आउटडोर क्याटरिङ हो । कुनै पनि पार्टी, उत्सवदेखि सभा, समारोहका लागि अर्डरअनुसारकै क्याटरिङ सेवा उपलब्ध गराइएको छ ।

रेष्टुरेन्टका सञ्चालक तथा हेड सेफ रामकृष्ण अर्यालले गोर्खा स्क्वायरको व्यवस्थापनसंगै खाना र सेवामा पनि सुधारसहितको परिवर्तन ल्याइएको बताए ।
रेष्टुरेन्टको मेन्यूमा इण्डियन कुइजिनसंगै मौलिक नेपाली परिकारहरु पनि थप गरिएको उनले जानकारी दिए ।

नयाँ व्यवस्थापनसहितको रेष्टुरेन्ट ओपनिङका अवसरमा गोर्खा स्क्वायरले पहिलो साता ग्राहकलाई ५० प्रतिशतको विशेष छुट अफर गरेको थियो। उक्त छुटको लाभ लिंदै २ सय ६० जना स्थानीय ग्राहकले रेष्टुरेन्टमा डिनर गरेका छन्। रेष्टुरेन्टबाट टेकवे सेवामा २० प्रतिशत छुट उपलब्ध गराइएको छ ।

रेष्टुरेन्ट उद्घाटन समारोहमा स्थानीय बरोका मेयरसंगै काउन्सिलरहरु पनि सहभागी भएर शुभकामना दिएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू