मंगलबार, असोज १, २०८१
15:53 | २०:३८

अरे माई गड ! मनोज गजुरेल बने भूतपूर्व ब्रिटिश गोर्खा

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२४

लन्डन– ‘अरे माई गड ! 

‘जन्में हुर्कें नेपालको पाखा पखेरामा, 

लाहुरे बनी लडाईं लडें हङकङ मलायामा,

रिटायर्ड भई नेपाल फर्कें फेरी यूके बोलायो,

जन्मथलो संझियो अनि सधैं टोलायो !’

‘गाईजात्रा यूके’मा भूतपूर्व गोर्खा क्याप्टेन मिस्टर थापाले  प्रधानमन्त्री केपी ओलीलाई सुनाएको कथा हो यो । क्याप्टेन थापा (मनोज गजुरेल) आइतबार सांझ लन्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा भूतपूर्व लाहुरेको अवतारमा स्टेज उत्रिएर माथिको पीडा व्यक्त गरिरहंदा दर्शकदीर्घामा रहेका सयौं भूतपूर्व वृद्धवृद्धा कतिबेला भावुक देखिन्थे । उनीहरु बेला बेला हांसो थाम्न नसकेर उत्साहित पनि हुन्थे ।

‘अरे माई गड !’ थेगो लगाएर बोल्ने क्याप्टेन थापा (गजुरेल) प्रधानमन्त्री ओली (सुवोध गौतम) लाई भन्छन् – ‘मन मुटुमा त मातृभूमिकै प्यास छ नि साब । नेपाली माटोमै रमाउन मन कसको नहोला र ? तर, वाध्यताले यतै पिल्सिनु परेको छ । हामीलाई न यहां छरछिमेक समाज छ, न अंग्रेजी भाषा । धित मरुन्जेल मनका कुरा खोल्न सन्तान पनि त साथमा छैनन् ।’

‘नेपाल फर्केर ढुक्कसंग बस्न’ प्रधानमन्त्रीले दिएको सुझावमा क्याप्टेन थापा (गजुरेल) भन्छन् – ‘अरे माई गड, जुन देशमा नेता सधैं ढुकढुक भएर बसेको हुन्छ, त्यो देशमा जनता कसरी ढुक्कले बस्न सक्छ ?’

‘साब नेपाल जान मन त लाग्छ नि तर ‘महिनावारी’को समस्या छ । महिना दिनभित्र नफर्किए यताको पाउंदार (बेनिफिट) गुम्छ । नजाउं विरक्तलाग्दो परिवेशमा कति बसौं ।’ 

केपी बा (सुवोध गौतम) संगको एक भेटमा क्याप्टेन थापा आक्रोश पोख्दै थिए, ‘तपाईं नेताहरुले देश बनाइदिएको भए हामी बन्दुक बोकेर अर्काको लागि किन लड्न आउनु पर्दथ्यो ? किन विदेशिनु पर्दथ्यो ? अहिले त वंशजको नागरिकता पनि गुम्यो । देशसंगको सम्बन्ध पनि टुट्दैछ ।’  

केपी बासंग क्याप्टेन थापाको असन्तुष्टिका पोका धेरै छन् । नेपालमा युवा पलायनको बाढी छ । क्याटेन थापा बनेका गजुरेल अगाडि थप्छन् – ‘यस्तै अवस्था रहने हो भने अबको केही वर्षमा नेपालमा ४ वटा ‘ब’ मात्र बांकी रहनेछन्- बुढापाका, बिरामी, बेरोजगारी र बांझो खेतबारी ।’

क्यारिकेचर र स्ट्याण्डअप कमेडीमा हरेक पटक केही नयांपन दिन माहिर कलाकार गजुरेल पहिलोपटक ‘गाइजात्रा’ लिएर यूके आएका हुन् । इभेन्ट्स नेपाल यूके र ब्राण्डवर्थ प्रा. लि. को सहकार्यमा बेलायतमा पहिलोपटक गाइजात्रा देखाइएको हो । 

ब्राण्डवर्थका सिइओ मोहन गजुरेल विदेशमा नेपाली जनसंख्या बढिरहंदा मौलिक कला, संस्कृति डायष्पोरासम्म लैजाने प्रयासमा आफूहरु लागेको बताउंछन् । पहिलोपटक गाइजात्रा बेलायत ल्याएको ब्राण्डवर्थले अब छिट्टै क्यानडा पनि लैजाने तयारी गरेको उनको भनाइ छ ।


कार्यक्रममा अर्का प्रतिभाशाली कलाकार सुवोध गौतमले स्ट्यान्डअप कमेडी तथा नेपाली वैज्ञानिक महावीर पुनको अवतारमा देखिएका प्रभात लामाले महावीरका केही फन्नी किस्साबाट हंसाए अनि नेपाली वैज्ञानिक र समाजको यथार्थ पनि झल्काए ।

दिपक मैथाने मगरले सञ्चालन गरेको प्लमस्टिड गाइजात्रा शोमा गायक दीपक घर्तीमगर एवं लोकदोहोरी गायक गायिका मनमाया वाइवा र राजु ढकालले दोहोरी गाएर दर्शक नचाए भने अघिल्लो दिन हेजमा आयोजित पहिलो शोमा गायक गायिका टिका सानु र राजु ढकालको विशेष दोहोरी थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू