बिहीबार, माघ १०, २०८१
02:37 | ०८:२२

हामी संविधान संशोधनको विरोधी होइनः प्रचण्ड

रासस सेप्टेम्बर ८, २०२४

फाइल तस्बिर

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू संविधान संशोधनको विपक्षमा नरहेको बताएका छन् ।

आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले संविधान संशोधनका नाममा जनताका हकअधिकार र प्राप्त उपलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने बताए ।

उत्पीडित वर्ग र समुदायको उत्थानका निम्ति ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने उनले उल्लेख गरे । माओवादीले सुरु गरेको ‘जनयुद्ध’बाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको उनले बताए ।

भ्रष्टाचारी एवं बिचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको उनको भनाइ थियो । “माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रूपमा पार्टीको संगठन विस्तार, सुदृढीकरण र पुनर्निर्माणमा पार्टीलाई अवसर प्राप्त भएको छ, पार्टी सुदृढीकरण अभियानमा साथ दिन सबैसँग अनुरोध गर्दछु”-उनले भने ।

बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई नरहेको उनले स्पष्ट पारे । दाहालले मुलुक र जनताविरोधी काम नगर्न सरकारलाई खबरदारी पनि गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू