मंगलबार, असोज १, २०८१
20:08 | ००:५३

जनसम्पर्क समिति बेलायतद्वारा सांसद, पत्रकार र कलाकारहरुसंग अन्तरक्रिया

नेपाली लिङ्क सेप्टेम्बर ७, २०२४

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले बेलायत भ्रमणका क्रममा गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी र नेपाल प्रेस युनियनकी उपमहासचिव दीलिपाश्री अधिकारीको सम्मानमा एक कार्यक्रम गरेको छ ।

शुक्रबार सांझ लन्डन साउथ ह्यारोस्थित नेवा छेःमा कार्यक्रम भएको हो । कार्यक्रममा जनसम्पर्क समितिका कार्यकारी सभापति महेशकुमार दाहालले प्रमुख अतिथी सांसद सुवेदी र पत्रकार नेतृ अधिकारीलाई खादाले सम्मान गरे ।

सो अवसरमा कार्यकारी सभापति दाहालले गाइजात्रा कार्यक्रम गर्न हाल बेलायत रहेका कलाकारहरु वरिष्ठ संगीतकार वसन्त सापकोटा, हांस्य कलाकार शिवशंकर रिजाल (जोगिन्दर) र सुरेन्द्र केसी (मुलासाग) लाई समेत सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुवेदीले आफ्नो साता लामो भ्रमणका क्रममा बेलायतको नेपाली डायष्पोराले उल्लेखनीय प्रगति गरिरहेको थाहा पाउंदा खुशी लागेको बताए । उनले राज्यले ‘ब्रेन ड्रेन’ को चिन्ता गरिरहंदा अब ‘ब्रेन गेन’ तिर बढी ध्यान दिन आवश्यक रहेको र यसमा डायष्पोराले भूमिका निर्वाह गर्न सक्ने पनि उल्लेख गरे ।

विदेशमा रहेका नेपालीलाई मातृभूमिसंग जोड्न र उनीहरुको ज्ञान, सीप नेपालमा सदुपयोग गर्न पूर्ण अधिकारसहितको नागरिकता दिन कन्जुस्याईं गर्न नहुने पनि उनको धारणा थियो ।

कार्यकारी सभापति दाहालले नेपालका पाहुनालाई स्वागत गर्दै बेलायत भ्रमण सुःखद रहोस् भन्ने शुभकामना दिए । दाहालले जनसम्पर्क समिति बेलायतबारे संक्षिप्त जानकारी दिंदै नेपालमा अब नयां पुस्ताले नेतृत्व लिएमात्र देश समृद्धि हुने विश्वास व्यक्त गरे ।

समितिका महामन्त्री कुश बस्नेतले सञ्चालन गरेको उक्त कार्यक्रममा सदस्य एवं छिट्टै कार्यकारी सभापतिको भूमिकामा आउन लागेका नेता युवराज सिंहले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा यती नेपाली एसोसिएसन यूकेका महासचिव टंक भट्टराई, वरिष्ठ संगीतकार वसन्त सापकोटा, नेपाल सांस्कृतिक संघका महामन्त्री एवं सर्लाही जिल्लाबाट कांग्रेस महासमिति सदस्य शिवशंकर रिजाल (जोगिन्दर), समितिका पूर्व महामन्त्री वुद्धिजिवी आर के त्रिपाठी, व्यवसायी कमल पौडेल लगायतले मन्तव्य राख्दै नेपाली कांग्रेस र समसामयिक राजनीतिबारे चर्चा गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू