सोमबार, पुष १५, २०८१
17:40 | २३:२५

विश्व व्यवस्थामा खतरा बढेको बेलायत र अमेरिकी गुप्तचर प्रमुखको चेतावनी

रासस/एएफपी सेप्टेम्बर ७, २०२४

लण्डन, भदौ २२ गते । अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल बर्न्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था शीतयुद्धपछि विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका छन् ।

फाइनान्सियल टाइम्सको विचार पृष्ठमा लेखेको लेखमा दुई गुप्तचर प्रमुखले भनेका छन्, ‘हामीसँग एक अर्काभन्दा बढी विश्वसनीय वा सम्मानित सहयोगी कोही छैन ।’ उनीहरूले मुख्यतया रुस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराहरूको सामना गरिरहेको बताउँदै आफूहरूको साझेदारी महत्त्वपूर्ण हुने बताएका छन् ।

संयुक्त राज्य अमेरिका र बेलायत फेब्रुअरी २०२२ मा सुरु गरिएको रुसी आक्रमणको प्रतिरोधमा युक्रेनको प्रमुख वित्तीय र सैन्य समर्थकमध्ये दुई प्रमुख राष्ट्र हुन् ।

“सहकार्य रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ”, लेखमा भनिएको छ,“रुसी गुप्तचर निकायले युरोपभरि चलाएको विध्वंसको लापरबाहीपूर्ण अभियानलाई बिथोल्न हामी मिलेर काम गरिरहेका छौँ ।”

लेखमा उनीहरूले अमेरिका र बेलायतले उन्नत एआई र क्लाउड प्रविधिको प्रयोग अहिले कसरी गरिरहेका छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् । पश्चिमा मुलुक र खासगरी अमेरिका र बेलायतले ती प्रविधिले सङ्कलन गरेका तथ्याङ्कको विशाल भण्डारहरू प्रयोग गरिरहेका लेखमा महत्वका साथ उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई सेप्टेम्बर १३ मा वासिङ्टनमा स्वागत गर्ने कार्यक्रम तय भएको वा स्टार्मरको भ्रमणको घोषणा भएको समयमा उक्त चेतावनी आएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले बेलायती प्रधानमन्त्री स्टार्मरलाई स्वागत गर्ने कार्यक्रम केही दिनअघि तय भएको थियो ।

ह्वाइट हाउसले शुक्रबार भनेको छ, ‘उनीहरू (बाइडेन र स्टर्ममर)ले अन्य कुराका साथै ‘युक्रेनलाई निरन्तर मजबुत बनाइराख्ने’ र गाजामा युद्धविराम हासिल गर्ने नयाँ उपायबारे छलफल गर्नेछन् ।’

इजरायलप्रति दुई राष्ट्रको अडान फरक–फरक रहेको समयमा यो बैठक हुन लागेको हो । युद्धग्रस्त गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी आफूले उपलब्ध गराएका हतियार प्रयोग हुनसक्ने भन्दै बेलायतले इजरायललाई ३० वटा हातहतियार निर्यात अनुमतिपत्र स्थगन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू