बिहीबार, माघ १०, २०८१
02:33 | ०८:१८

पशुपतिमा तीन लाख बढीले गरे पूजा

रासस सेप्टेम्बर ६, २०२४

काठमाडौँ । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् ।

आज चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

पशुपतिनाथको दर्शनका लागि अझै धेरै व्रतालु लामो लाममा बसेका छन् । व्रतालु लाममा बसेसम्म आज दर्शन गर्न दिइने कोषले जनाएको छ ।

पर्वका अवसरमा आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको थियो । बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए ।

तीजका लागि कोषले बाहिरबाट चारवटा लामको व्यवस्था गरेको थियो । मूल मन्दिरभित्र प्रवेश गरिसकेपछि एउटा ढोकामा दुईदेखि तीन लामको व्यवस्था गरिएको अधिकारीले बताए । तीजका अवसरमा प्रथम महिला सविता पौडेलले आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम छ ।

यसैगरी तीजको व्यवस्थापन अवलोकन गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे पनि पशुपति क्षेत्र जाने जनाइएको छ ।

पर्वका अवसरमा मूल मन्दिरभित्र करिब ६ सय महिला प्रहरीमात्र खटाइएको जनाइएको छ । कोषले तीजका अवसरमा आज व्रतालु महिलालाई मात्र प्रवेश गराएको छ ।

धेरैभन्दा धेरै महिला बर्तालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले आज विशेष पूजाको रसिद पनि नकाटिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू