मंगलबार, असोज १, २०८१
20:09 | ००:५४

बेलायतमा प्रिमियर शो तयारीमा चलचित्र ‘काँडेतार’

नेपाली लिङ्क सेप्टेम्बर १, २०२४

निर्मात्रीद्वय सत्यकला राई (दायाँ) र रोमियन लिम्बु

लन्डन । एउटा देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ बेलायतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।

फिल्मको पहिलो प्रिमियर शो यही १५ सेप्टेम्बर दिउसो अल्डरसटस्थित एम्पायर हलमा हुने तयारी छ । फिल्म शोका लागि नेपालबाट गायिका एवं निर्मात्री सत्यकला राई अहिले बेलायतमा छिन् । यूके प्रदर्शनको संयोजन अर्की निर्मात्री एवं नेपाल चलचित्र कलाकार संघ बेलायतकी अध्यक्ष रोमियन लिम्बुले गरेकी छन् ।

निर्मात्रीद्वय राई र लिम्बुले आइतबार सञ्चारकर्मीहरुमाझ फिल्म र बेलायत शोबारे जानकारी दिए ।

गायिका एवं निर्मात्री राईले नवल खड्का निर्देशित ‘काँडेतार’ देशभक्तिपूर्ण र नेपाल भारत सिमानामा भइरहेको समस्यामा केन्द्रित फिल्म भएको जनाउंदै सम्पूर्ण नेपालीलाई आफ्नो सम्झेर हेर्न आइदिन अपिल गरिन् । टिकट मूल्य १५ पाउण्डमात्र छ ।

सार्वभौमसत्ता नेपाल राज्यलाई बचाउनु सबै नेपालीको कर्तव्य भएको जनाउंदै राईले खुला सिमानाका कारण सीमा अतिक्रमण र अपराध बढेको र सीमा नजिकका नेपाली नागरिक प्रताडित भएकाले फिल्मले सिमानामा कांडेतार लगाउनुपर्छ, बोर्डर सिल गर्नुपर्छ अनि असल छिमेकी बन्नु पर्छ भन्ने सन्देश दिएको बताइन् ।

काँडेतार प्रदर्शन गर्न धेरै संघर्ष गर्नु परेको स्मरण गर्दै राईले भनिन्, ‘धेरै दुःख गरेर फिल्म निर्माण गरेका छौं । यो सम्पूर्ण नेपालीको मुभी हो । कृपया बेलायतमा रहनुभएका नेपाली दर्शकहरु एम्पायरमा आएर हामीलाई हौसला दिनु होला ।’

फिल्मको गुणस्तरियता र लगानीमा कुनै कमी हुन नदिएको बताउंदै राईले फिल्मले युवापुस्ता विदेशिएको अवस्था पनि दर्शाएको जनाइन् । करिब दुई घण्टा लामो फिल्ममा मनोरन्जन र फाइट पनि समावेश छ । धेरैजसो सिमानामै छायांकन गरिएको उक्त फिल्ममा नवल खड्का, प्रशान्त यादव, रेविका गुरुङ, गौरव पहारी, मुरलीधर, रोमियन लिम्बु, सुरबिना कार्की, प्रेम सुब्बा लगायतको अभिनय छ ।

‘सबैले आफ्नो लागि बनेको फिल्म अपनत्व गरिदिनु होला । अरु भन्दा फरक मुभी हो, यसले सन्देश बोकेको छ’, राईले भनिन्, ‘यो ५०० वर्षपछि खोजिने फिल्म बनेको छ । यस्तो फिल्म नेपालमा बनेकै छैन्’, उनले दावी गरिन् ।

फिल्मका कारण छिमेकी भारतसंग सम्बन्ध बिग्रने होइन, दुवै पक्षलाई फाइदा र सम्बन्ध सुमधुर हुने उनको भनाइ छ ।

निर्मात्री एवं कलाकार रोमियन लिम्बुले ऐतिहासिक मुभी हेर्न आइदिन बेलायतवासी नेपाली सबैमा अपिल गरिन् । १५ सेप्टेम्बर एम्पायर हलमा एक बजे प्रदर्शन शुरु हुने र आसफोर्डमा २९ सेप्टेम्बरका दिन शो तय भएको रोमियनले जनाइन् । उक्त फिल्म लन्डन हयारो, रेडिङ, ननिटन आदि शहरमा समेत प्रदर्शन गरिने उनले बताएकी छन् ।

सीमानामा काँडेतार राख्दा दुई मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन्, असल छिमेकीसंगको सद्भाव पनि कायम राख्छ भन्ने कथासार रहेको निर्देशक नवल खड्का बताउंछन् ।

‘फिल्म निर्माण सहज छैन् । नेपाली दर्शकहरुले पनि हामी निर्मातालाई बचाउनु पर्छ अनि मात्र फिल्म उद्योग बच्छ’-उनले भनिन्- ‘हामीलाई तपाईं दर्शकहरुको मायाको खांचो छ । आउनुहोस् संगै बसेर फिल्म हेरौं ।’ रोमियनले प्रायोजक, शुभचिन्तक सबैप्रति आभार समेत व्यक्त गरिन् ।

१५ सेप्टेम्बर एम्पायरमा फिल्म शो सकिएपछि त्यही सांझ गायिका सत्यकला राईको अल्डरसटस्थित ठमेलमा एकल सांगीतिक प्रस्तुति हुन लागेको पनि रोमियनले जनाइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू