‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेशनल्स् इन युरोप’ को विधिवत घोषणा


भियना – युरोपमा कार्यरत नेपाली स्वास्थकर्मीहरुलाई एकै ठाउंमा जोडेर क्षमता अभिवृद्धि, सूचना आदानप्रदान साथै नेपालको स्वास्थ्य क्षेत्रमा संस्थागत रुपमा योगदान दिने उद्देश्य लिएको एक संस्थाको आधिकारिक रुपमा घोषणा गरिएको छ।
शनिबार आयोजित भर्चुअल घोषणा सभामा अष्ट्रियाकालागि नेपाली राजदूत भरत कुमार रेग्मीले उक्त समाजको उद्घाटन गरे।
डा विनय श्रेष्ठको अध्यक्षतामा सर्वसम्मतरुपमा गठन गरिएको उक्त सोसाइटीको उपाध्यक्षमा स्वीडेन निवासी डा. दिपराज थापा, अपरेसनल डाइरेक्टरमा अष्ट्रिया निवासी सागर सुवेदी, फाइनान्स डाइरेक्टरमा जर्मन निवासी डा सागर धिताल, मेम्बरसीप र आउटरिच डाइरेक्टरमा जर्मन निवासी डा सुनिल हमाल, प्रोफेशनल डेभलोप्मेन्ट डाइरेक्टरमा क्रमशः फिनल्याण्ड निवासी डा मनोज बस्नेत, डेनमार्क निवासी लक्ष्मी बेल्वासे र द नेदरल्याण्डस् निवासी डा किशोरमणी श्रेष्ठ छन् ।
नवगठित कार्यसमति सदस्यहरुलाई अष्ट्रियाका लागि नेपाली राजदूत तथा उक्त कार्यक्रमका प्रमुख अतिथि भरत कुमार रेग्मीले शपथ दिलाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रेग्मीले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजी समाहित गर्ने सरकारको नीति रहेको भन्दै यो अभियानले नेपाललाई मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले शिक्षक र चिकित्साकर्मीहरुलाई मानिसहरुले अन्तर्मनबाटै सम्मान गर्ने गरेको बताउंदै स्वास्थ्यकर्मीहरुको सेवा र प्रतिवद्धताको प्रशंसा गरे ।
उनले नेपालमा स्वास्थ्य क्षेत्रमा विगतको तुलनामा प्रगति भएपनि सीमित श्रोत साधनका कारण चाहे जस्तो प्रगति हासिल गर्न नसकिएको जनाए । उनले नवगठित समितिलाई पूर्ण सफलताको शुभकामना पनि दिए ।
समाजका अध्यक्ष डा (मेडिकल) विनय श्रेष्ठले आफू कार्यरत स्वीजरल्याण्डको अस्पतालका झन्डै ४० प्रतिशत स्वास्थ्यकर्मी आप्रवासी रहेको बताए। हामीले युरोपमै अन्य मुलुकबाट आएका स्वास्थ्यकर्मीहरुसंग पनि प्रतिष्पर्धा गर्नुपर्छ। ‘नेपालमा हेल्थ केयर सिष्टम राम्रो बनाउनका लागि राम्रो स्वास्थ्य नीति बन्न जरुरी छ । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्दछ । साथै स्वास्थ्य क्षेत्रमा लगानी पनि गर्न सक्नुपर्दछ,’ उनले भने, ‘स्वीट्जरल्याण्डको स्वास्थ्य क्षेत्रमा ९० प्रतिशतभन्दा बढी लगानी पब्लिक सेक्टरको छ । यहाँ प्राइभेट सेक्टरको लगानी सानो छ ।’
डा. श्रेष्ठले स्वीट्जरल्याण्डमा जीडीपीको ११–१२ प्रतिशत स्वास्थ्य क्षेत्रमा लगानी भएको तर नेपालमा झन्डै त्यसको आधा जस्तै रहेको बताए । उनले नेपालको दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई हौसला स्वरूप वर्षेनी पुरस्कृत गर्ने आफूहरुको योजना रहेको पनि सुनाए ।
उपाध्यक्ष डा दिपराज थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विश्व स्वास्थ संगठनका पूर्व निर्देशक विभागीय डाइरेक्टर समेत रहिसकेका डा शम्भु आचार्यले पठाएको लिखित सन्देश वाचन गरेर सुनाइएको थियो।
गैरआवासीय नेपाली संघ युरोप क्षेत्रका पूर्व उपसंयोजक समेत रहिसकेका शुक्रराज न्यौपाने, अनेसास का केन्द्रिय उपाध्यक्ष डिल्लीराम अम्माई, बीबीसीका पूर्व पत्रकार भगीरथ योगी, पत्रकारहरु ददी सापकोटा, वसन्त रानाभाट, लेखक पञ्चम अधिकारी लगायतले नयाँ संस्थाले युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुलाई एकजुट गर्न सकोस् भन्दै शुभकामना दिएका थिए। उक्त कार्यक्रम सञ्चालन सागर सुवेदीले गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५