मंगलबार, असोज १, २०८१
20:18 | ०१:०३

एनआरएनए यूके पूर्व अध्यक्ष पुनम बनिन् ‘पौरखी दूत’

नेपाली लिङ्क सेप्टेम्बर १, २०२४


लन्डन- एनआरएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङ वैदेशिक रोजगारबाट स्वदेश फर्किएका महिला कामदारको संस्था पौरखी नेपालको दूत नियुक्त भएकी छन् ।

बिहीबार काठमाडौँमा सम्पन्न संस्थाको २२औँ साधारणसभा तथा आठौँ अधिवेशनका अवसरमा बेलायत निवासी समाजसेवी गुरुङलाई पौरखी दूतको रुपमा प्रमाणपत्र दिइएको हो ।

साधारणसभाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले उद्घाटन गरेका थिए ।

संस्थाको लक्ष्य र मिसनलाई अगाडि बढाउन उनको समर्पण र उदाहरणीय सेवाको कदर स्वरूप उनलाई दूत बनाइएको अध्यक्ष सत्राकुमारी गुरुङले जनाएकी छन् । एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम तमुधिं यूके आमा समूहको संस्थापक अध्यक्ष तथा बुद्धिस्ट गुम्बा रेडिङको संस्थापक सदस्य तथा सल्लाहकारसमेत हुन् ।

सोही अवसरमा पौरखी नेपालले लैंगिक अधिकार तथा नीति विशेषज्ञ चाँदनी जोशी तथा पौरखी नेपालको रणनीतिक सल्लाहकार मञ्जु गुरुङलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री भण्डारीले घरेलु कामदारलाई व्यवस्तित बनाउन सरकार लागि परेको बताएका थिए । वैदेशिक रोजगारमा अधिकांश महिलाहरू घरेलु कामदारमा जाने गरेको भएता पनि उनीहरूलाई तालिम र सूचनाको अभाव रहेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, पौरखी नेपालका महासचिव सिन्धु अर्याल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बराललगायतले बोलेका थिए ।

पौरखी नेपालले स्थापनादेखि नै विशेष गरी वैदेशिक रोजगारीमा गएका महिलाहरूको पक्षमा वकालत गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू