शनिबार, पुष ६, २०८१
14:01 | १९:४६

तीज पर्व: हिजो र आज

प्रतिमा केसी सेप्टेम्बर १, २०२४

हामी नेपालीहरू चाडपर्वका धनी छौं । समयक्रममा संविधानले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपनि अधिकांश हिन्दु धर्मसंग सम्बन्धित चाडहरु प्रमुख रूपमा मनाउने गरिन्छ । यद्यपि अन्य धर्मालम्बीहरूले पनि आ–आफ्नो चाड भव्य रूपमा मनाउंछन् । यस लेखमा नेपालका प्रमुख चाडहरूमध्ये महिलाहरूको चाडको रूपमा मानिने एक चाड तीजको बारेमा आफूले देखेको विगतको तीज पर्व र वर्तमानको तीजबारे छोटो चर्चा गर्ने प्रयास गरेकी छु ।

धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार “माता पार्वतीले महादेव पति पाउँ” भनि गरेको तपस्या पूर्ण भएको दिनलाई विशेष दिन मानिन्छ । यसै दिनमा हिन्दु धर्मावलम्बी महिलाहरुले पनि उपवास बसेर शिवजीको पूजा गरी मनाउने पर्व तीज हो। शरद ऋतुको शुरुवातसंगै निकै रोमाञ्चक रुपमा मनाइने यस सांस्कृतिक चाडमा नारीहरूले दुतियाको दिनमा दर खाएर तृतीयाको दिनमा ब्रत बस्ने, रमाइलो नाचगान गर्ने, खानपान गर्ने, माइतीमा जाने, दिदीबहिनीहरु तथा साथीहरुसंगको भेटघाटले आनन्दित हुने हुनाले महिलाहरुका लागि तीज विशेष पर्व हो। तीज विगतदेखि वर्तमानसम्म आइपुग्दा हिन्दु महिलाहरुको मात्र नभएर सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरुको लागि विशेष बन्दै गएको छ। घरदेश होस् या परदेश जताततै आफ्नो गक्ष र समय अनुसार तीज मनाइन्छ । तर, परिवेश र तौरतरिका भने परिवर्तित देखिन्छ ।

म, पश्चिम नेपालको एउटा गाउँले परिवेशमा जन्मेर त्यहाँको तीज महशुस गरेको र त्यहाँको तीजमा राम्ररी घुलेको छोरीचेली हुनाले त्यहाँ पहिले कसरी तीज मनाउने गरिन्थ्यो भन्ने चर्चा गर्दा पुरानो अर्गानिक तीज बुझ्न सहज होला । सम्भवतः तीजको मूल मर्म सिंगो नेपाल कै मैले देखे भोगे जस्तो हो भन्ने लाग्छ । यद्यपि भौगोलिक हिसाबले मनाउने तरिकामा केहि विविधता हुन सक्छ।

जब तीज आउँथ्यो वरपरका सबै आमाहरु र विवाहित दिदीबहिनी माईत जान्थे । म पनि मेरो घरको हजुरआमासंग बुढो मावलीमा तीज मनाउन जान्थें । बुढो मावलको मेरो हजुरआमाका भाइ वहाँलाई लिन हाम्रो घरमा आउनुहुन्थ्यो । मानमनितोका व्यवहार र भलाकुसारीसंगै खानपान गरेपछि हजुरआमाले कपुर हालेर मधुसमा राखेका नयाँ कपडा निकाल्नु हुन्थ्यो। फुली, मुन्द्री, माडवरी त लगाएकै हुन्थ्यो त्यसमाथि कण्ठमाला लगाउनुहुन्थ्यो । कोरीबाटी गरेर चिटिक्क परेपछि म पनि जामा लगाएर फुरुक फुरुक गर्दै हजुरआमाको अघि लाग्थें । हजुरआमाका भाइ हजुरबा अति प्रसन्न देखिनु हुन्थ्यो ।

हो, तीज आएपछि बा, दाजुभाईहरु आफैं छोरीचेलीका घरमा गइ लिएर आउने चलन थियो । तीजको बेला विशेष गरी दुध दही घिउबाट बनेका परिकारहरु खाइन्थ्यो । अनदीको चामलमा धेरै घिउ हालेर पकाएको चाम्रे, खीर, ढकनी र दही केरा आज पनि जिब्रोमा झुन्डिएको छ । त्यो मौसममा पाइने तरकारी घिरौंला, चिचिन्डा, करेला, तामा, फर्सी, बोडी, काक्रा, बेलाउती र नास्पति खाइन्थ्यो । गाउँघरमा र बारीमा जे छ त्यसैलाई मिठो मसिनो गरी पकाइन्थ्यो, खाइन्थ्यो तर किनबेच गर्ने त्यति चलन थिएन ।

ऊ बेला आजभोलि जस्तो यातायातको सुविधा र फोन केही थिएन । छोरीचेली दिनभर हिंडेर घर र माइत गर्थे । असुरक्षाको किन्चित महशुस हुने थिएन । यसरी घरबाट माइत आएका, माइतमा भएका र वरपरका दिदीबहिनीहरु, दाजुभाई र आफन्तजनहरु जम्मा भएर आगनमा टुकी, लालटिन बालेर मादल बजाएर नाचगान गर्थे । दाइभाईहरु मादल बजाउँथे बाआमाहरु बसेर रमाइलो हेर्थे । वेदनाले भरिएका मार्मिक गीत गाएका बेला बाआमाहरुका आँखामा आँसु टिलपिलाउँथे।

“शिरै लाउनी शिरफुल बाकसमा राखुला यो मनको वेदना केमा राखुला”, “म चेली अभागिनी माइतै वस्न परेको सधैंभरि बाबालाई भुटो बरिलै ”,“विहानै उठेर दैलोपोतो गरे, जेठाजुको अगाडी कपाल नकोरे ” जस्ता अर्ती उपदेश र वेदनाका गीतहरू घंकिन्थे ।

मेरो मानसपटलमा ती परिवेश अहिलेसम्म पनि ताजै छ । घरमा भएका दुःख सुख र समाजमा घटेका घट्नाहरुलाई गीतमा बुनेर सिर्जनात्मक तरिकाले गाउने चलन थियो । अलि गाउन जान्ने अगुवा महिलाले टुक्का निकाल्ने र अरु सबैले छोपेर झ्याम झ्याम ताली बजाएर कुनै पनि घट्नाहरुलाई गीत बनाएर गाउँथे । नारी वेदनासंगै भगवान भक्तिका गीतहरू गुन्जिन्थे । तीजमा छोरीचेलीहरु घरबाट माइत आउँदाको सुखानुभूति र बाटो हेर्दै बसेका बा आमाहरुको तृप्त हृदय लेख्न मसंग शब्दहरु नै छैनन् । त्यो सुखद क्षणको अनुभव गर्न म आफूले नपाए पनि साक्षी बसेकी छु।

नेपालमा पञ्चायती व्यवस्था ढलेर जब २०४६ सालमा बहुदलीय ब्यवस्था शुरु भयो त्यसपछि तीजमा गाइने गीतहरूले फड्को मारयो । दुःख पीरबाट अलिकति उठेर महिलाहरुले नारी मुक्तिका गीत गाउन थाले । नारी चेतनामूलक तीज गीतका किताबहरु बजारमा आउन थाले । हजुरआमाहरूका गीतहरु कम सुनिन थाले । त्यो भन्दा सांस्कृतिक विचलन कहाँबाट शुरु भयो भने महिलाहरु पनि कांग्रेसका महिला र कम्युनिष्टका महिलाका समूहमा बाँडिन थाले । छुट्टाछुट्टै समूह बनाएर नाचगान हुन थाल्यो । त्यो मिठासको पारिवारिक चाड पार्टीगत हुन थाल्यो । विभिन्न तीज प्रतियोगिताहरुमा गीतहरु पार्टीको मुखपत्र जस्ता हुन थाले । राणाकाल, पञ्चायतकाल हुंदै वहुदलीय व्यवस्था परिवर्तन संगै नारी अवस्थामा पनि परिवर्तन ल्याउन यसले निकै मद्धत भने गरेको छ ।

नेपालमा करिव एक दशक चलेको माओवादी आन्दोलनको प्रभाव र आर्थिक उपार्जनको सिलसिलामा धेरै मानिसहरु गाउँ छोडेर जिल्ला सदरमुकाम, तराई र शहरतिर बसाई सरे । रोजगारीको खोजीमा परदेश पनि लागे अलिकति तीज जहाँ गए त्यहीँ लिएर गएका छन् । गाउँ र गाउँमा हुने तीज हिंजो जस्तो रसिलो, पोसिलो र स्वस्थ छैन् अहिले ।

समयक्रमसंगै सबै कुरा परिवर्तन भएका छन्। देशमा लोकतन्त्र गणतन्त्र छ र महिला स्वतन्त्रता छ तर स्वतन्त्रताभित्र स्वच्छन्दता झाँगिएको छ । अहिले पार्टीगत भन्दा पनि बढी ब्यवसायिक गीतहरु बनेका छन्। नेपालीहरूको यो सांस्कृतिक पर्व नेपालीसंगै विश्वव्यापी भइसकेको छ तर अर्गानिक नभएर हाइब्रीड रुपमा। आजभोलि शहरका घरमा तीज अटाउन सक्दैन । घरको आगनबाट पार्टी प्यालेसहरुमा पुगेको छ तीज । सांस्कृतिक पर्व अव व्यापारिक चाड भएको छ । एकदिन खाने दर हप्तौंसम्म खाइने गर्दा खर्चको दर पनि डरलाग्दो भएर बढेको छ । भगवानका गुणगान र दुःख पीडाहरुबाट पर पुगेर दाजुभाई बाहरुसंग बसेर हेर्न नसकिने भएको छ तीज । नाम र दाम कमाउने होडबाजीले नारीलाई अर्धनग्न हुँदै अश्लीलतातिर धकेलेको छ । यद्यपि हुनेखाने र हुँदा खाने वर्गमा विभाजित महिलामा यसको फरक फरक प्रभाव छ ।

भन्न मन लाग्छ– हुनेखाने दिदीबहिनीहरुले पनि घमण्ड नगरौं र भड्किलो पनि नगरौं । मध्यममा चलौं । आफ्नो संस्कार संस्कृति जोगाउँ । आफ्ना चाडपर्व गौरवले मनाउँ तर उत्ताउलो तीज नबनाउँ । यसरी नै तीजको रुप बदलियो, उद्देश्य बदलियो भने तीजको भविष्य पनि यसरी नै बदलिने छ । संस्कृति मासिने छ। हिजो र आजको तीज मनाउने तौर तरिका हेरेर भोलि हाम्रा छोरी नातिनीहरुलाई कस्तो परम्पराको तीज हस्तान्तरण गरिएला चिन्तन गरौँ ?

नेपाल तथा संसारभर छरिएका खासगरी नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज हामीहरु सबैको लागि सधैं भव्य र सभ्य चाड बनोस् हार्दिक शुभकामना

(लेखिका केसी बेलायती डायस्पोरामा सक्रिय साहित्यकार हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू