वेष्ट मिडल्यान्डका नेपालीमाझ महिला तथा घरेलु हिंसाबारे सचेतना कार्यक्रम


लन्डन- पछिल्लो समय महिला तथा घरेलु हिंसासम्बन्धी दुखद घटनाहरु मिडियामा आइरहेकै बेला बेलायतको वेष्ट मिडल्यान्डस्थित नेपाली समुदायमा एक सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
नेपाली समाज, वेस्ट मिडल्याण्ड्स यूकेले विश्वभर बढ्दो घरेलु हिंसा र विशेष गरी महिलामाथि हुने हिंसाका घटनाहरूलाई मध्यनजर गर्दै ओल्वरह्यम्प्टनमा बसोबास गर्ने नेपालीहरुमाझ महिला तथा घरेलु हिंसामा चेतना र सजगता बढाउने कार्यक्रम गरेको हो ।
कार्यक्रममा महिला तथा घरेलु हिंसाबारे प्रकाश पार्दै एलिना कंडेलले घरेलु हिंसाको गम्भीरता र यस्ता कार्यक्रमको आवश्यकताबारे बताइन् ।
समाजकी उपाध्यक्ष लक्ष्मी खरेलले संयोजन गरेको कार्यक्रममा महिला तथा घरेलु हिंसामा विद्यावारिधि गर्दै गरेकी रिसर्चर बिन्दु देवकोटा सापकोटाले महिला तथा घरेलु हिंसाका तथ्यांकहरू, यसका निवारणका उपायहरू र हिंसा भोगिरहेका महिलाले बेलायतमा कहाँबाट के कस्ता सहयोग लिन सक्छन् भन्नेबारे जानकारी गराइन्।
अध्ययनअनुसार हरेक तीन जनामा एक महिला आफ्नो जीवनकालमा हिंसाको शिकार हुने भएकोले जो कोही पनि सदभावना दूत बनेर अरुको लागि आवाज बन्न सक्ने तथा हिंसा र बल प्रयोग गरेर नभइ शान्ति र अहिंसाबाट पनि समस्या समाधान गर्न सकिने धारणा कार्यक्रममा राखिएको थियो।
हिंसासम्बन्धी आफ्नो समस्यालाई समयमै पहिचान गरेर रिपोटिङ नगर्नु, आवश्यक सहयोग लिन ढिलाई गर्नुजस्ता कारणले समाजमा नमिठो घटनाहरु निम्त्याउने भएकाले यसतर्फ सचेत हुन आवश्यक रहेको वक्ताहरुले बताएका थिए ।
समाजका पूर्व अध्यक्षहरु शिवलाल खराल र श्रीमती गोमा पौडेललगायत विभिन्न समाजसेवी सहभागी उक्त कार्यक्रम संचालन पूर्व महासचिव डा कृष्ण सापकोटाले गरेका थिए ।
अमेरिकाकी नेपाली ममता र भारतकी चिकित्सक मोमितामाथि भएका दुःखद घटनाहरूलाई मध्यनजर गर्दै हाम्रो नेपाली समाज वेस्ट मिड्ल्यान्डस्ले घरेलु हिंसा विरुद्धको सचेतना र निवारण अभियानमा योगदान दिन सबैमा आव्हान गरेको छ।
कार्यक्रममार्फत् नेपाली समुदायले सबैका लागि सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ भने जनचेतना र शिक्षालाई महिला तथा घरेलु हिंसा विरुद्धको संघर्षमा महत्त्वपूर्ण अस्त्र मानेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५