बिहीबार, माघ १०, २०८१
12:15 | १८:००

बेलायतमा दक्षिणपन्थी समूहले नेपालीको पबमा लगाइदिए आगो

नेपाली लिङ्क अगस्ट २३, २०२४


लन्डन । बेलायतको नर्दन आयरल्यान्डस्थित नेपाली व्यवसायीको एक पब तथा रेस्टुरेन्टमा आगजनी भएको छ । 

बालीक्लेयर रोड, न्यूटाउन आबीमा रहेको रेलवे बार एन्ड स्टीम डाइनिङमा बुधवार बिहान करिव ०१:५० बजे पेट्रोल बम प्रहार गरि आगजनी गरिएको व्यवसायी अब्जन आचार्यले जनाए । 

आगजनी पछि पबको भित्तामा ‘मुस्लिम आउट’ लेखिएको छ ।  

प्रहरीले घट्नालाई जातीय उत्प्रेरित घृणाजन्य अपराध भनेको छ। दक्षिणपन्थी समूहले आगजनी गरेको बताउंदै आचार्यले प्रहरीले घट्ना अनुसन्धान गरिरहेको बताए ।  

व्यवसायी आचार्यले आगजनी पछि आफ्नो पब र रेष्टुरेन्ट पूर्ण रुपमा क्षति भएर बन्द गर्नु परेको बताएका छन् । अब सोही ठाउँमा पुन: सन्चालन गर्न असम्भव रहेको पनि उनले बताए ।  

आचार्यले गत मार्चमा मात्र करिब एक लाख पाउन्ड लगानी गरेर उक्त व्यवसाय शुरु गरेका थिए ।  

‘म हिन्दू परिवारमा जन्मिएको, बेलफास्टमा हुर्केको र शिक्षित भएको नेपाली मेरो छालाको रंग र धर्मले हामीलाई यस्तो घृणित कार्यको निशाना बनाउँछ भन्ने कल्पना पनि गरेको थिइनँ’-आचार्यले दुखेसो पोखे । बाग्लुङ स्थायी घर भएका आचार्य सन् २००६ देखि बेलायतमा छन् ।  

नेपाली कम्युनिटी नर्दन आयरल्यान्डका पूर्व अध्यक्ष आचार्यले यस्तो जघन्य जातीय घटनाबाट नेपाली समुदाय त्रसित रहेको पनि बताए । यधपि स्थानीय समुदाय, प्रहरी र राजनीतिक दलले पूर्ण सहयोग गरेको उनको भनाइ छ ।  


बेलायतमा केही साता अघिमात्र एक साता लामो हिंसात्मक दंगा भएको थियो । दक्षिणपन्थी समूहले आप्रवासी र मुस्लिमहरूलाई मुख्य निसाना बनाएर गरेको उक्त दंगा १३ वर्षपछिको सबैभन्दा उग्र मानिएको छ ।

नेशनल पुलिस चिफस् काउन्सिलले बेलायतमा हिंसात्मक दंगामा १०२४ जनालाई पक्राउ गरिएको र ५७५ लाई अभियोग लगाइएको जनाएको छ।

गत जुलाई २९ मा उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टमा एक १७ वर्षीय युवाले छुरा प्रहार गरेर ६, ७ र ९ वर्षका तीन बालिकाको हत्या गरेपछि हिंसा फैलिएको थियो ।

प्रहरीले बालिका हत्या गर्ने संदिग्ध युवा बेलायतमा जन्मिएको जनाए पनि दक्षिणपन्थीहरूले ती युवा शरणार्थी र मुस्लिम भएको हल्ला फैलाए । त्यसपछि आप्रवासी र मुस्लिमविरोधी प्रदर्शनहरू हिंसामा परिणत भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू