मेलाजस्तै हुनेछ यस वर्ष रेडिङ कप, यस्तो हुँदैछ तयारी
लन्डन । ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनले आउंदो ३१ अगष्टका दिन पाल्मर पार्कमा १७ औं रेडिङ कप फुटबल प्रतियोगिता गर्ने तयारी गरेको छ ।
गत आइतबार खेल स्थल पाल्मर पार्क मैदानमै आयोजित एक पत्रकार सम्मेलनमार्फत एसोसिएसनले प्रतियोगिता तयारीबारे अवगत गराएको हो ।
यस सिजनको अन्तिम वृहत फुटबल प्रतियोगिता मानिएको रेडिङ कप अन्तर्गत युथ क्याटेगोरीमा १६, भेट्रानमा १२ र सुपर भेट्रान क्याटेगोरीमा ८ टिम गरि ३६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
युथ विजेता टिमले पहिलो पुरस्कार २०२४ पाउन्ड, कप र प्रमाणपत्र पाउने छ भने रनरअपले १०२४ पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसैगरि भेट्रानतर्फ वीनरले १०२४ पाउन्ड, ट्रफी र प्रमाणपत्र तथा रनरअपले ५२४ पाउन्ड, ट्रफी र प्रमाणपत्र पाउनेछ ।
उता, सुपर भेट्रानतर्फ वीनरले ५२४ पाउन्ड, ट्रफी र प्रमाणपत्र पाउनेछ भने रनरअप टिमले ३२४ पाउन्ड, ट्रफी र प्रमाणपत्र पाउनेछ ।
फुटबलबाहेक त्यही दिन भलिबल, निशुल्क स्वास्थ्य शिविर, नाचगान, म:म, सेलरोटी जस्ता नेपाली परिकार एवं व्यापारिक स्टलमार्फत व्यापार व्यवसाय प्रवर्धन समेत हुने एसोसिएसनले जनाएको छ । आयोजकले करिब ५ हजार दर्शक सहभागिता अपेक्षा गरेका छन् ।
रेडिङ कप हेर्न जानेलाई निशुल्क कार पार्क व्यवस्था छ भने प्रवेश शुल्क पनि लाग्दैन ।
सप्ताहन्त पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष भीमसेन खड्काले युवाहरुलाई समेट्दै खेलकुदमार्फत समुन्नत समाज बनाउने उद्देश्य लिइएको बताए । उनले एकैदिन फुटबल, मैत्रीपूर्ण भलिबल, नाचगान, हेल्थ चेक अप आदि व्यवस्थापन गर्न चुनौति भएपनि विभिन्न उपसमिति र भोलेन्टियरका कारण रेडिङ कप सफल हुने विश्वास व्यक्त गर्दै सबैलाई सहभागिताका लागि अपिल गरेका छन् ।
प्रतियोगिता संयोजक भरत पौडेलले खेल तयारीबारे जानकारी दिंदै यो फुटबलमात्र नभएर मेला पनि भएको बताए । एसोसिएसनले विगत देखि नै बालबालिका र युवालाई प्रोत्साहन गरिरहेको जनाउंदै पौडेलले कपबाट स्थानीय व्यापार व्यवसाय प्रवर्धन, खेलाडीलाई प्रोत्साहन र नेपाली कला संस्कृतिको जगेर्ना हुने विश्वास व्यक्त गरे ।
कम्युनिटीका सल्लाहकार विश्व आदर्श पण्डितले रेडिङ कपलाई फुटबलमा मात्र सिमित नराखी नेपाली मेलाकै रुपमा संचालन गर्न खोजिएको बताए।
मिडिया कोअर्डिनेटर सुवास चापागाईंले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा आर्थिक संयोजक उपाध्यक्ष सुरेश थापाले आम्दानी र खर्च सम्बन्धमा बताए । एसोसिएसनकी उपाध्यक्ष कल्पना पण्डितले रेडिङ कपले खेलप्रेमीलाई अवसर भएको बताउंदै त्यसदिन बालबालिकाले पनि नृत्य देखाउने जनाइन्। पण्डितकै संयोजनमा बालबालिकाको डान्स क्लव शुरु भएको छ । उनले यस लगत्तै एसोसिएसनले तीज कार्यक्रम समेत गर्न लागेको जनाइन् ।
भोलेन्टियर कोअर्डिनेटर मीन गुरुङले अण्डर १६ उमेरका भाइबहिनीहरुले स्वयंसेवा गर्ने जनाए । भविष्यमा उनीहरुले नै यस्ता कार्यक्रमको जिम्मा लिउन् भन्ने आफूहरुको उद्देश्य रहेको बताए । स्वयंसेवक व्यवस्थापनका लागि हिम्मत सिटौला र सुरेन्द्र उप्रेती पनि क्रियाशील छन् ।
विगतको रेडिङ कप वीनर ब्रिगेड ब्वाइज क्लवका क्याप्टेन सुरेश रानामगरले सिजनको अन्तिम गेम भएकाले दर्शकहरु खेल हेर्न उत्साहित रहेका बताए ।
लन्डनस्थित नेपाली दूतावासबाट प्रमुख अतिथी हुने उक्त प्रतियोगितामा उपाध्यक्ष यादव श्रेष्ठ र महिला उपाध्यक्ष कल्पना पण्डितले अतिथी सत्कारको जिम्मा पाएका छन् ।
सन् २००१ मा स्थापित एसोसिएसनले सन् २००६ देखि रेडिङ कप गर्दै आएको छ । तत्कालिन अध्यक्ष महेश गुरुङको नेतृत्वमा वर्तमान उपाध्यक्ष प्रेम गुरुङको परिकल्पना र तत्कालिन अध्यक्षद्धय अर्जुन बस्नेत र सिबी गुरुङ लगायत पदाधिकारीको सक्रियतामा शुरु गरिएको रेडिङ कप अहिले १७ औं संस्करण आइपुग्दा अझ व्यापक र गौरवमय मेला बनेको छ । कोभिड महामारीका बेला सन् २०२० मा भने प्रतियोगिता हुन सकेन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५