लन्डन ग्रीनवीच बरोले पहिलोपटक तीज कार्यक्रम गर्दै, मेयर च्यारिटीमा कोष जुटाइने
लन्डन- नेपाली नारीहरुको सांस्कृतिक पर्व तीजका अवसरमा लन्डनको रोयल बरो अफ ग्रीनवीचमा पहिलोपटक एक विशेष कार्यक्रम आयोजना हुने भएको छ ।
बरोका विशेष समारोहहरु आयोजना हुने वुल्लीच टाउन हलमा यही अगष्ट ३१ तारिख शनिबार साँझ ‘तीज सेलेब्रेसन’ हुने भएको हो ।
बरोकी मेयरेस (मेयरपत्नी) गौमाया गुरुङ रानाभाटको आव्हान तथा ग्रीनवीच बरोको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा तीज नाचगान, डिजे डान्सका साथ स्वादिष्ट नेपाली परिकारहरु समावेश तीजको दर पनि सर्भ गरिनेछ । सो अवसरमा नेपालबाट आएकी चर्चित लोकदोहोरी गायिका सुशिला गौतमले पनि विशेष प्रस्तुति गर्ने भएकी छन् ।
तीज कार्यक्रमबाट मेयर च्यारिटीका लागि केही कोष संकलन गर्ने लक्ष्य समेत राखिएको छ । मेयर च्यारिटीअन्तर्गत ग्रीनवीच बरोका वर्तमान मेयर जीत रानाभाटले वुल्लीचकै कमनवेल्थ एण्ड गोर्खा गार्डेन र बावेल क्यान्सर यूकेलाई सहयोग गर्ने लक्ष्य बनाएका छन् ।
कार्यक्रमको सम्पूर्ण खर्च व्यवस्थापन आयोजक ग्रीनवीच बरोले नै गर्नेछ । तर मेयर च्यारिटीलाई कोष जुटाउने उद्धेश्यले हरेक सहभागीबाट २५ पाउण्डका दरले च्यारिटी कोष संकलन गरिनेछ ।
ग्रीनवीच बरोकी मेयरेस गौमाया गुरुङ रानाभाटले बरोले पहिलोपटक आयोजना गर्न लागेको तीज इभेन्टमा सहभागी हुन स्थानीय सबै नेपाली दिदीबहिनीलाई आव्हान गरेकी छन् ।
बरोका मेयर काउन्सिलर जीत रानाभाटका अनुसार बरोको औपचारिक सिभिक इभेन्टकै रुपमा यस वर्ष पहिलोपटक तीज कार्यक्रम हुन लागेको हो । तर बरोको सिभिक इभेन्टमा सूचीबद्ध भएपछि अर्को वर्षदेखि बरोले क्यालेन्डरमै राखेर हरेक वर्ष यो कार्यक्रम आयोजना गर्नेछ ।
‘धेरै नेपालीहरु समेतको बसोबास रहेको ग्रीनवीचमा पहिलोपटक नेपाली नारीहरुको पर्व तीजको पहिचान गर्दै बरो आफैले सिभिक इभेन्ट आयोजना गर्नु सुखद कुरा हो’, मेयर रानाभाटले नेपालीलिंकसंग भने, ‘यही कार्यक्रमबाट संकलन हुने कोषबाट मेयर च्यारिटीअन्तर्गत नेपालीहरुकै नेतृत्वमा अघि बढेको कमनवेल्थ एण्ड गोर्खा गार्डेनलाई सहयोग पुर्याउनु झन् ठूलो खुशीको विषय हो ।’
मेयर रानाभाटले कार्यक्रममा सहभागी भएर सहयोग गर्न तथा उपस्थित हुन नसक्नेहरुले पनि स्वेच्छिक रुपमा च्यारिटीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
विगत केही वर्षदेखि ग्रीनवीच बरोमा काउन्सिलर रहेका रानाभाट झण्डै तीन महिनाअघि मेयर निर्वाचित भएका हुन् । उनी ग्रीनवीच बरोमा नेपाली मूलबाट काउन्सिलर वा मेयर निर्वाचित हुने पहिलो हुन् ।
बरोकै टाउन हलमा हुने कार्यक्रममा सीट सिमित रहेकाले ‘फर्स्ट कम, फर्स्ट सर्भ’ अनुसार स्थान उपलब्ध गराइने जनाइएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि नाम दर्ता गर्न यो लिंकमा क्लिक गर्नुहोस् ।
मेयर च्यारिटीमा सहयोग गर्न यो लिंकमा क्लिक गर्नुहोस् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५