बिहीबार, माघ १०, २०८१
12:06 | १७:५१

लन्डन पशुपतिनाथ मन्दिरमा पन्ध्र सय बढीले गरे रक्षावन्धन (तस्विरहरु)

नेपाली लिङ्क अगस्ट १९, २०२४


लन्डन- हिन्दूहरुको सांस्कृतिक पर्व जनैपूर्णिमा बेलायतवासी नेपालीहरुले पनि रक्षावन्धन गरी मनाएका छन्।

लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा सोमबार आयोजित सामूहिक रक्षावन्धन कार्यक्रममा पन्ध्र सय बढी स्थानीय नेपाली सहभागी बनेको मन्दिरका पण्डित ज्योतिषी निलहरि घिमिरेले नेपालीलिंकलाई जानकारी दिए।

रक्षावन्धनको लागि बिहान सात बजेदेखि नै मन्दिरमा भक्तजनहरुको घुइंचो लागेको थियो । पशुपतिनाथ मन्दिरमा दुई दशकदेखि वर्षेनी गरिंदै आएको सामूहिक रक्षावन्धनमा यसपटक अहिलेसम्मकै धेरै सहभागी बनेका हुन्।

त्यसअघि पण्डितहरुबाट विधिपूर्वक नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन गराइएको थियो। पण्डित घिमिरेका अनुसार त्यस अवसरमा सप्तऋषि पूजा, रुद्री पूजा, रुद्री पाठ, चण्डी पाठ, वेद पाठ, गायत्री मन्त्रको जपलगायतका विधि पूरा गरिएको थियो। पूजामा प्रतिनिधि यजमानका रुपमा गोकुल न्यौपाने सहभागी भएका थिए ।

मन्दिरमा भेला भएका भक्तालुहरुले पण्डितहरु निलहरि घिमिरे, विनोद पन्थी, आनन्द लोहनी, दिनानाथ पौडेललगायतबाट जनै तथा रक्षावन्धन ग्रहण गरेका थिए।

उपस्थित सबै भक्तालुको लागि मन्दिरका तर्फबाट प्रसाद वितरण गरिएको थियो। प्रसाद तयारीमा रामकृष्ण अर्याल, गुनाखर गौतम, डा दीपक पाण्डे, गोकर्ण अर्याल (कृष्ण) लगायतले स्वयमसेवा गरेका थिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्यालले सामूहिक रक्षावन्धन कार्यक्रम सफल पार्न योगदान गर्ने सबै पण्डितहरु र उपस्थित भक्तालुका साथै मन्दिर कार्यसमितिका पदाधिकारी, ट्रष्टी, स्वयमसेवकसहित सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

मन्दिरका संस्थापनकालदेखिकै पण्डित निलहरि घिमिरेले सन् २००३ मा आयोजित सामूहिक जनै पूर्णिमाकै अवसरमा पशुपतिनाथ मन्दिर स्थापनाको संकल्प गरिएको स्मरण गर्दै यो दिनलाई मन्दिर स्थापना दिवसकै रुपमा पनि लिने गरिएको बताए।

हेरौं थप तस्विरहरु (तस्विरह- प्रकाश कंडेल)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू