बिहीबार, माघ १०, २०८१
12:24 | १८:०९

नवनिर्वाचित बेलायती सांसदलाई फोक्सटोनका नेपालीले गरे स्वागत सम्मान

नेपाली लिङ्क अगस्ट १८, २०२४


लन्डन – फोक्सटोन नेप्लिज कम्युनिटीले फोक्सटोन तथा हाइथका नवनिर्वाचित सांसद टोनी भोनलाई आफ्नै कार्यालयमा स्वागत गरेको छ।

गत ८ अगष्टका दिन  सांसद भोनले  फोक्सटोन नेप्लिज कम्युनिटीको निमन्त्रणामा  फोक्सटोन नेप्लिज कम्युनिटी सेन्टरको भ्रमण गरे। 

उक्त अवसरमा सांसद भोन तथा उनका चिफ अफ स्टाफ टिम मोर्गनलाई कम्युनिटीका सदस्यहरुले खादा लगाएर स्वागत गरेका थिए।  

स्वागत समारोहमा  फोक्सटोन नेप्लिज कम्युनिटीका अध्यक्ष सेवा निवृत्त क्याप्टेन राम बहादुर पुनले आफ्ना सदस्यहरुको हितका लागि  समाजले गरिरहेका कामहरुबारे जानकारी गराए। 

उनले उत्साहका साथ नेपाली चाडबाडहरु मनाउनुका साथै  समाजका सदस्यहरुलाई सक्दो सहयोग गर्दै आएको बताए।  

उक्त अवसरमा लेबर पार्टीबाट नवनिर्वाचित सांसद भोनले फोक्सटोन नेप्लिज कम्युनिटीले आफ्ना सदस्यहरुको हितका लागि गर्दै आएका  कामको प्रशंसा गरे।  

उनले भूतपूर्व गोर्खा तथा नेपालीहरुले स्थानीय  समुदायमा महत्वपूर्ण योगदान पुराइ रहेको बताए। उनले भूतपूर्व गोर्खा तथा नेपाली  समुदायलाई सक्दो सहयोग गर्न आफु तत्पर रहेको पनि जनाए।

उक्त अवसरमा सांसद भोन तथा अध्यक्ष राम बहादुर पुन मगरले न्याशनल लट्रीको इन्सिग्निया संयुक्त रुपमा अनावरण गरेका थिए। 

कम्युनिटीको कार्यालय संचालन लगायत अन्य कल्याणकारी कार्यका लागि न्याशनल लट्रीले गत जुलाई २०२४ मा £२३३,६३६.०० अनुदान उपलब्ध गराएकोले सम्मान स्वरुप उक्त निकायको  इन्सिग्निया समाजको कार्यालयमा राखिएको छ। 

उक्त अवसरमा समाजलाई योगदान गर्ने व्यक्तित्वहरु तथा शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरुलाई प्रशंसापत्र पनि प्रदान गरिएको थियो। 

कार्यक्रममा फोक्स्टोनकी पूर्व मेयर काउन्सिलर ज्याकी मीडले  आफ्नो कार्यकालमा फोक्स्टोन नगर तथा पूर्वी नेपालको मेची नगरबीच भगिनी सम्बन्ध कायम गर्न पुर्‍याएको योगदानको कदर गर्दै ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो।

कार्यक्रम संचालन अध्यक्ष अध्यक्ष राम बहादुर पुन मगर तथा महासचिव डा महा राईले गरेका थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू