मंगलबार, असोज १, २०८१
20:41 | ०१:२६

ललित न्यौपानेको मुक्तकसंग्रह ‘मनका तरंगहरु’ विमोचित

नेपाली लिङ्क अगस्ट १७, २०२४

लण्डन । दुबईमा प्रोपर्टी व्यवसाय संचालन गर्दै आएका साहित्यकार ललित कुमार न्यौपानेको मुक्तक संग्रह ‘मनका तरंगहरु’ विमोचन भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौको पारिजात सभा कक्षमा शनिबार एक विशेष कार्यक्रमबीच नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यमा मुक्तक संग्रह विमोचन गरिएको हो ।

सामाजिक संजाल तथा मिडियाको सुविधाका कारण मुक्तकको लोकप्रियता चुलिँदै गएको र मुक्तकको आफ्नै विशेषता भएको हुँदा आफू यस विधातर्फ आकर्षित भएको न्यौपानेको धारणा छ ।

परदेशको व्यस्त जीवनमा पनि नेपाली साहित्यलाई मन मुटुमा राखेर फुर्सदको समयमा सामाजिक संजालमा पोष्ट गरिएका २२४ ओटा मुक्तकलाई एकत्रित गरि २२४  ‘मनका तरंग’ मुक्तक संग्रह पुस्तकको रुपमा प्रस्तुत गरेको उनले बताए ।

विभिन्न विषयवस्तुमा कोरिएको र समाजको यथार्थता प्रतिविम्बित गरेर पाठकको हृदयलाई स्पर्श गर्न आफूले गरेको प्रयासको मूल्यांकन पाठकबाट लिएर भावी अंकमा समेट्ने उनको प्रतिवद्धता छ ।

न्यौपानेका सम्पादित तीन कृतिहरु सोलुका सुसेली भाग १, सोलुका सुसेली भाग २ र उदयपुर दर्पण यस अघि नै प्रकाशित भइसकेका छन्  ।

प्रवाशमा रहकोले न्यौपाने भने विमोचन कार्यक्रममा उपस्थित थिएनन् । आफ्नो अमूल्य समय दिएर विमोचन कार्यक्रम सफल पार्न भूमिका निर्वाह गर्ने प्रमुख अतिथिलगायत विशिष्ट अतिथि, समिक्षक तथा आयोजक ‘हातेमालो साहित्य संगम’का अध्यक्षलगायत सिंगो टिम र पुस्तक सम्पादन, प्रकाशन तथा विमोचनमा आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउने सबैलाई न्यौपानेले धन्यबाद दिएका छन् ।

यसैगरी ‘मुक्तकालय नेपाल’ का अध्यक्ष सुनिल अधिकारी, प्रकाशनमा सहयोग गर्ने वरिष्ठ साहित्यकार/रंग कलाकार रमेश पौडेल तथा कभर डिजाइनर सौगात अधिकारीप्रति पनि कृतज्ञता व्यक्त गरेका छन् ।

सोहि कार्यक्रममा हिमा घर्तीको ‘सपनाको क्षेत्रफल’ विमोचन गरिएको थियो । उक्त मुक्तक संग्रह सफलताको लागि लेखिका हिमा घर्तीलाई उनले शुभकमना व्यक्त गरेका छन् ।

बेलायत छाडेर न्यौपाने ४ वर्षदेखि युएई दुबईस्थित ‘वी ड्रिम रियल स्टेट’ का प्रमुख कार्यकारी अधिकृत’ को रुपमा प्रोपर्टी व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू